सम्पादकीय

 

18 अप्रेल दोस्रो चरणको दार्जीलिङ लोकसभा चुनाउ समाप्त भएपछि फेरि दार्जीलिङ विधानसभाको निम्ति अहिले घरि चुनावी माहौलले छोप्न थालेको छ। दार्जीलिङ आसनको विधायक अमरसिंह राई लोकसभा उम्मेद्वार भएपछि यो रिक्त रहेको पदको निम्ति फेरि दार्जीलिङ विधानसभा उपचुनाउ हुने भयो। मूलतः सबैलाई ज्ञात नै छ कि गोजमुमो विनय पन्थी र तृणमूल गठबन्धन अनि गोजमुमो  विमल गुट, गोरामुमो एवं अन्य स्थानीय दलहरूको संयुक्त गठजोड़ले भाजापालाई समर्थन गरेपछि दार्जीलिङको चुनाउ रोचक भएको छ। मूलतः राज्य र केन्द्रको द्वन्द्व, विकास कि स्थायी समाधान भन्ने प्रश्नमा मतदाताहरूले भोट दिएका छन् भने त्यसको उत्तरको सबै प्रतिक्षामा छन्।
यता लोकसभा चुनाउको लगत्तै 20-22 दिनपछि फेरि दार्जीलिङको विधानसभा उपचुनाउमा विनय तामाङ -स्वयं निर्दलबाट एवं भाजपाबाट सबै दलको सहयोगमा निरज जिम्बा उठेपछि यसको परिणाम 23 मईमा हुने भएको छ। यसरी लगत्तै दार्जीलिङ विधानसभा अनि लोकसभा दुवै आसनको परिणाम एकैदिन निस्किएपछि कसको पक्षमा दार्जीलिङका जनता छन् अनुमान लगाइने छ। दार्जीलिङको स्थायी समाधान कि विकास भन्ने पक्षमा कसको पल्ला भारी छ त्यसको गणतान्त्रिक पद्धति अनुरूप चुनाउ परिणामले देखाउने छ। अनि आशा गर्न सकिन्छ मतदाताहरूको भावनालाई यस देशका केन्द्र अनि राज्य दुवैले राम्रासँग पर्गेल्नेछ साथै समाधान गर्ने पक्षमा अवश्यै  सक्रिय हुनेछ भन्ने अनुमान गरिएको छ। 
मूलतः यहाँ तृणमूल पार्थी अमरसिंह राई अनि विजेपी पार्थी राजु विष्ठ दुवैमा अमरसिंह राईले जितेको खण्डमा दार्जीलिङको विकास सर्वेपरि हुनेछ, राजु विष्टले जितेको खण्डमा दार्जीलिङको स्थायी राजनैतिक समस्याको पहल सर्वोपरी हुनेछ। यता निर्दल उम्मेद्वार विनयले जिते दार्जीलिङको विकासलाई अझ विस्तृत गरिनेछ भने निरज जिम्बाले जिते राजनैतिक समस्याको पहलमा अघि बढ्ने सम्भावना देखिएको छ।  यसर्थ दार्जीलिङको दशा र दिशा कता ढल्कने हो, त्यो 23 मई पछिको चुनावी परिणामले बताउनेछ।