सम्पादकीय

 

आजको युग विज्ञानको युग हो भनिन्छ। भनिन्छ मात्र होइन, संसारमा आज विज्ञानले सबै क्षेत्रमा अपार सफलता प्राप्त पनि गरिसकेको छ। तर यस्तो लाग्छ, विज्ञानले एकप्रकार प्रकृतिसँग नै पौंठेजोरी खेल्दै, त्यसलाई हाँक दिँदै आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले प्रकृतिलाई उछिन्दै, यसलाई त्यति केही वास्तै नदिई विकासका नाउँमा मनपरि गर्दै यो जसरी अघि बढ्‌दै छ, यसको परिणाम भविष्यमा भयावह नहोला भनेर तोक लाउन भने सकिँदैन। प्रकृतिसँग कुहिनो जुधाउनुको अर्थ हो विनाशलाई निम्त्याउनु। यस वर्ष यूरोपका तीन चौथाई देशहरू बरफले सेताम्मे भए। त्यहाँको जीवनको लय र गतिलाई यसले बिथोलेर राखि दियो। अप्रत्याशित आएको हुन्डरी र बाढ़ीले एउटा सिङ्गै देशको कम्मर भाँचेरै राखिदियो, जीवन अस्तव्यस्त भयो। भारतको कुरो गर्नु हो भने उत्तराखण्डको जोशीमठमा धेरै मानिसका घरमा, होटलमा र अरू अरू आवासीय क्षेत्रहरूका घरहरूमा जताततै धाँजा फाटे, त्यहाँका बासिन्दा त्राहिमाम भए। तिनीहरूलाई उनीहरूको पैत्रिक घरबाट निकालेर अस्थायी रूपमा अन्तै सार्न सरकार वाध्य भयो। हाम्रा भाषामा ‘उठिवास’ भन्ने एउटा शब्द छ। बिल्लिबाठ भएर आफ्नो घरबार छोड़नुलाई नै उठिवास भनिन्छ। जोशीमठमा धेरै मानिस उठिबास भए। यो सबै प्रकृतिलाई बलमिच्याई गरेर अघि बढ्‌नुको परिणाम हो। प्रकृतिकै आश्रयमा हामी छौं र यसमा प्रकृतिलाई न बिच्याइकन यसको दोहनसम्म त गर्न सकिन्छ। यसरी दोहन गर्दा प्रकृतिले धेरै थोक हामीलाई दिन्छ र दिएकै पनि छ, तर प्रकृतिलाई नै मासेर यसको शोषण गर्न थाल्नु हो भने पछि यसले साउँ मात्र होइन, हिसाब मिलाएर ब्याज पनि लिन्छ। पहाड़ फोरेर ठूला ठूला प्रोजेकहरू बसाउनु, ड्याम बनाउनु, सुरूङ खन्नु आदि इत्यादि गर्नु हो भने प्रकृतिको सन्तुलन बिग्रिदैन? केवल आर्थिज्ञक मापदण्डलाई मात्र हेरेर यस्तो गर्न थाल्नु हो भने प्रकृतिमाथि भार पर्छ नै।

भारतमा लोकसभाको चुनाउ आउन अब जम्मा जम्मी एकै वर्ष रह्यो। यसको चलखेल भित्रभित्रै आहिल्यैदेखि शुरू भइसकेको छ। भएन, कतिपय राज्यहरूका  चुनाउहरू त 2023 मै हुनेछन्‌। त्यसका लागि पनि सबैले जमर्को कसिसकेका छन्‌। परिणाम पछिको कुरो हो।

यता हाम्रालागि चैं ‘जुन जोगी आए पनि कुमै चिरेको’ भन्ने उखान चरितार्थ भइरहेको छ। रोइ रहेको पहाड़ हेरेर ‘हाँस्दै छ’ भन्ने अवस्थामा हामी पुगेका छौं। नेताहरूले जति नै फलाके पनि, जे गरे पनि उही ‘घुमी-फिरी रूम्झेटार’ मै हामी अहिले पनि छौं।

आजसम्म सर्वभारतीय स्तरको र भारतलाई नै प्रभावित पार्न सक्ने कुनै गोर्खा नेता हामीले पाउन सकेका छैनौं। त्यस्तो हुन सक्ने सम्भावना भएको नेतालाई पनि हामी टाड़ै पन्छाउन खोज्छौं। एउटा बिडम्बना के छ भने, ‘भाषा-साहित्य, सङ्गीत र कलाले जोड्‌ने काम गर्छ, राजनीतिले तोड्‌ने काम गर्छ’ भन्ने कुरो हामी गर्छौं। खोइ त! राजनीति गरेर पनि बङ्गाललाई तोड़ेर आजसम्म कसैले ‘गोर्खाल्याण्ड’ ल्याउन सकेनन्‌ त हाम्रा नेताहरू ले। किन? खोइ तोड़ियो बङ्गाल!

कुनै पनि स्तरको पञ्चायत किन नहोस्‌, त्यो एउटा सम्बैधानिक निकाय हो। पहाड़मा त्रिस्तरीय पञ्चायत चुनाउको त कुरै नगरौं, 2001 मा भएको चुनाउ पछि त्यहाँ फेरि अर्को चुनाउ हुँदै भएन, किन? यस्तो सम्बैधानिक चुनाउ भएर बोर्ड गठन भइसकेपछि यसको अधिकार पनि सम्वैधानिक नै हुनेछ। यस्तो अवस्थामा त्यहाँ स्थानीय निकायमा धेरैको अधिकार र हक खोसिन्छ अनि कसरी हुन्छ यस्तो चुनाउ!

चाहे त्यो केन्द्रिय नेतृत्व होस्‌ अथवा स्थानीय, सबै नेताहरूले गोर्खाहरूलाई फोस्रो आश्वासनको चाकाचुलीमा हालेर खेलाइरहेका छन्‌ भन्ने देखिन्छ। कहिले यता, कहिले उता हुँदै सत्ताको बाँड़-फाँड़ गरेर आफ्नो दुनो सोझ्याउने ‘नेताहरूले गोर्खाहरूको कल्याणका लागि दूरगामी पाइला चाल्ने छन्‌’ भनेर सोच्नु पनि अब त आफूले आफैलाई विश्वासघात गरे जस्तो हुने भो।

गोर्खाको सपनाको टीस्टा यसरी नै बगिरहेको छ।