कुरो जति नै गम्भीर भएपनि अचेल चारैतिर रमितै रमिता देखिन थालेको छ। यूक्रेन र रुसको लडाईँ चलेको चल्यै छ, त्यसले थामिने नामै लिएको छैन। हल्ला परमाणु लडाईँसम्ममा पुगेको छ।
यो 2023 को फेब्रुअरीमा त्रिपुरा, नागालैण्ड र मेघालय आदि राज्यमा चुनाउको हुरी आयो, गयो, परिणाम सबैलाई थाहै छ। यसमा हामीले टिप्पणी गर्नु केही छैन। केन्द्र अब आउँदो लोकसभा चुनाउकालागि अहिल्यैदेखि जुर्मुराउन थालेको छ। यसैपालि बङ्गालमा पञ्चायत चुनाउ पनि सम्भवतः हुने नै छ। मतदान जनतांत्रिक अधिकार हो भन्दै जनता धाई धाई मत खसाल्न जान्छन्। उनीहरुको अधिकार यत्ति हो। यसपछि चुनाउ जित्नेले जे गरोस् गरोस्, यसमा पनि रमितै छ।
यता हाम्रा पहाड़का नेताहरूको कुरो गर्नु हो भने यिनले आजसम्म जे गर्दै आए त्यसमा पनि रमितै रमिता भएको बुझिन्छ। 86 को आन्दोलन पछि दागोपाप आयो, एउटा नेताको अवधि 2007 मा आएर टुङ्गो लाग्यो। त्यसपछि अर्को आन्दोलन। त्यो पनि 2011 मा एउटा क्षेत्रीय प्रशासनिक निकाईमा आएर अनौठो रमिता देखाएर त्यसले पनि भारी बिसायो।
2017 मा फेरि अर्को आन्दोलन। 104 दिन सम्म पहाड़ ठप्प। यसले त अझ अर्कै रमिता देखाएर आफ्नो मैझारो माऱ्यो। त्यसपछिको समीकरण ले कुन रूप लियो भन्ने कुराको उठान यहाँ नगरे पनि हुन्छ। अब फेरि अर्को मेहेरो आउँदैछ। यो कतातिर ढल्किने हो र यो मेहेरो कता हानिने हो, अहिले नै ज्योतिषको तर्क अघि सारेर भन्न मिल्दैन। यस्तो प्रक्रिया लामो हुन्छ। अब आउँदा दिनहरूमा कस्ता कस्ता रमिता हेर्न पाइन्छन् भन्ने कुरो भविष्यको गर्भमा लुकेको छ र गर्भको कुरो कसैले ठोकुवा गरेर भन्न सक्तैन। फेरि पनि रमिता देख्न र हेर्न पाइन्छ। सर्व भारतीय स्तरका घटनाक्रम हरूलाई नियाल्नु हो भने अचेल धर्मका नाउँमा भनाभन र तर्कातर्की चलि रहेको देखिन्छ। एउटाले हिन्दु सनातन धर्मको सारङ्गी रेट्न थालेको छ, त्यहाँ पनि रमितै छ। ईडी, एन आई ए, आइ टी ले जताततै खनिखोत्रो गरेर छापा मारेको मार्यै छ, त्यहाँ पनि पो रमितै छ । राहुल गान्धीले भारत जोडो यात्रा भन्दै 4000 किलोमीटर पैदल हिँडेको फल के निस्कियो, त्यसको उत्तर कसैसँग छैन। अँ यत्ति हो , दाह्री पालेर उनले पनि एउटा गजबको रमिता देखाएकै हुन्। सालेखाले भन्नु पर्दा यत्ति भन्न सकिन्छ, धार्मिक, आर्थिक सामाजिक , राजनैतिक, यी सबै क्षेत्रमा अचेल चारैतिर रमिता छ।
