सम्पादकीय

 

आज पुरै देशमा मोदी लहरले चमत्कार गरेको स्थितिमा बंगाल पनि यस लहरबाट अक्षुण रहन सकेन। मूलतः 350 को आँकड़ा पर गरेको मोदी सरकारले यसपालीको चुनाउमा बंगालमा पनि जादुई आकँड़ा पार गरेर सबैलाई अचम्भित तुल्याएको छ; किनभने पुरै भारत वर्षमध्ये एकमात्र बंगालमा ममताको तृणमूल सरकार सबैभन्दा बलियो सरकार थियो अनि बंगालमा भारत स्वतन्त्र भएदेखि यता विजेपी दलले कहिल्यै आफ्नो प्रदर्शन राम्रो गर्नसकेको थिएन। तर 2019 को यस चुनाउमा भने 42 वटा आशन मध्ये 18 वटा लोकसभा आसन मोदी लहरले जित्नु अनि 34 प्रतिशत भोट संख्या हासिल गरेर विजेपीले बंगालको सत्तारूढ़ दल तृणमूल कंग्रेसभन्दा 2 प्रतिशत मात्र कम ल्याउनु, सबैको निम्ति यो जादुइ आँकड़ा भयो। यसको कारण के हो त भन्दा धेरै पक्षबाट तृणमूल कंग्रेसको सुप्रिमो ममता स्वयम्‌ नै दायी रहेको अनुमान गरिएको छ।

बंगालमा सैद्धान्तिक रूपले काम गर्ने बामफ्रण्ट सरकारलाई परास्त गरेर ममताको नेतृत्वमा नवगठित तृणमूल सरकार गठन हुनु भनेको लरतरो कुरो थिएन। एउटा सिद्धान्तवादी दल अनि अर्को व्यक्तिवादी दल जसको नेतृत्व ममता स्वयम्‌ले गरिरहेका छन्‌ अनि बंगालको विधानसभामा दोस्रोपल्ट दुइ चौथाई बहुमत अनि लोकसभामा 40 मध्ये 38 आसन हासिल गरेपछि ममतामा एकप्रकारको अहम जाग्यो। उनले आफैलाई नै रानी झै मानी सम्पूर्ण दलीय, प्रशासनिक एवं राजनैतिक अनि न्यायिक क्षेत्रमा हस्तक्षेप गर्न थालिन्‌। दलका पुराना अनुभवी नेताहरूलाई सानो कुरोमा ब्याकफूट तर्फ झार्नु नै ठूलो भूल भयो। प्रशासनलाई पुरै  दलीय कार्यकर्ताहरू झैं प्रयोग गरेर हिट्‌लरिजम निती चलाएर प्रत्येक पक्षका मानिसहरूमा अशन्तुष्ट बनाइन्‌। यति मात्र होइन बंगालमा अन्य दलहरूको जनसभामा रोक, विपक्षी दलका नेताहरूलाई धम्की, मारपीट, हत्या इत्यादि गर्दा पनि प्रशासनलाई निष्पक्ष तौरले काम गर्न नदिनु, दलीय कार्यहरूमा सबै क्षेत्रमा हस्तक्षेप, फेरि बंगालमा मुस्लिम तुष्टिकरण, हिन्दु नारामा रोक, पूजामा रोकको अतिरिक्त यसपालीको चुनाउमा प्रधानमन्त्री जस्तो अहोदाका  व्यक्तिलाई संविधान विरुद्ध कार्यनिती  गरेर गाली-गलोच गर्नु बंगालमा मोदीलाई रैली जनसभा गर्न नदिनु। पहाड़मा अत्यचार गर्नु यी सबै ममता स्वयम्‌को निती अनि कार्य थियो। कहिल्यै हसिलो नभएर खालि रिस, इखको प्रदर्शन गर्नु नै ममताको ठूलो भूल भयो। आज पनि हार पश्चात्‌ पुराना र पावरफूल मन्त्रीहरूलाई पदबाट हटाउनु ठूलो भूल गर्दैछिन्‌। सम्पूर्ण आफैले गरेको भूललाई मन्थन नगरेर अरूमाथि कार्वाही गर्नु नै यिनको हिट्‌लरिजम निती हो भन्दा अत्युक्ति नहोला। जसको परिणाम भोग्दैछिन्‌ अनि अझै भोग्ने सम्भावना छ।