राशिफल 01 Dec 2020 - देखि 1st January 2021 - सम्म

दार्जीलिङको विश्वप्रसिद्ध चिया कमान पनि सहकारी संस्थाद्वारा परिचालन गर्न सकिँदैन?


- गणेश कुमार प्रधान, साक्योङ, पेदोङ

 

विश्वप्रसिद्ध चिया अनि श्रमिकवर्गको अवस्था हिमालय दर्पण पत्रिकाको मत अभिमत स्तम्भमा मिलन त्यागीद्वारा लेखिएको लेख, दार्जीलिङ चियाबारीमा श्रमिक शोषणको सन्दर्भमा एलेम लामा, चुङचुङ, बिजनबारीबाट लेखिएको लेख वा थहळींहशी ऊरीक्षशशश्रळपस ढशर-बारे पश्चिम बंगाल चिया विकास निगमको अवकाश प्राप्त निर्देशक एल.बी. देवानले लेखेका सानो सात पन्नाको लेख र यस्तै विभिन्न लेखहरू, कविताहरू आदिलाई विचार्दा चियाबारीका श्रमिकवर्गका शोषणबारे, श्रमिकहरूको रोजवृद्धि, बोनस र उनीहरूका विभिन्न समस्याबारे चियाकमानको स्थापनाकालदेखि आजसम्म पीड़ादायक कहानी, रोदन क्रन्दनको कथा व्यथा थामिएकै छैन। 

खेतीपाती नै कालेबुङको मुख्य आधार हो भने दार्जीलिङको, खरसाङको मुख्य आधार चियाखेती हो। विश्वप्रसिद्ध दार्जीलिङ चिया उद्योगको थालनी सर्वप्रथम 1835 सालमा भएको हो। यसपश्चात्‌ तकभर, आलूबारी, मकैबारी आदि स्थानहरूमा चियाको बोट रोप्ने काम शुरू भयो। यसरी 1766 सालमा 39 वटा चियाबगानदेखि बढ़ेर 1891 मा 177 वटा चिया कमानहरू भएका थिए। तर 1979 मा चिया कमानको संख्या घटेर 102 मा आयो। अझ 1982 मा केवल 84 चिया कमानहरू सञ्चालित थिए।  श्री एल.एम. लामा अनुसार दार्जीलिङ, खरसाङ, कालेबुङ गरी 82 चियाकमान हालमा सञ्चालित छन्‌। यो लेखमा लामाले खूबै मिहिनेत गरी तुलनात्मक विश्लेषण र प्रमाण गरेका छन्‌ कि एकजना मजदूरले एक सालमा मालिकलाई रु 7 लाख (सात लाख 98 हजार) मूल्यको आमदानी दिएको साटो उसले मजदूरलाई सालमा 62 हजार 6 सय मात्र दिँदोरहेछ। यसबाट श्रमिकलाई कतिको शोषण हुँदोरहेछ भनेर लामाले स्पष्ट पारेका छन्‌। सरकारबाट परिचालित मनरेगामा मजदूरले प्रतिदिन रु. 151/- को दरले मजदुरी पाइरहेका छन्‌ भने चियामजदूरको रोजी केवल रु. 90/- मात्र छ। विश्व प्रसिद्ध दार्जीलिङ चिया उत्पादन गर्ने एकजना श्रमिकको मजदूरी यति अविश्वासनीय रूपले कम्ती  यही दार्जीलिङ पहाड़को जैविक चियाले दक्षिण अमेरिकाको ब्राजीलमा आयोजित 20औं विश्वकप फूटबलमा 32 वटा देशका खेलाड़ीहरूलाई ऊर्जावान वा शक्ति सञ्चार गर्ने काम गरेको थियो। यस विश्वकपमा दार्जीलिङको मकैबारी चियाकमानका मालिकले जुन प्रचेष्टा गरे त्यसको निम्ति मकैबारीको व्यवस्थापन प्रशंसाको पात्र छ साथै चियापत्तिको मूल्य एक किलोग्रामको रु. 24,000/- प्राप्त गरेको तथ्य प्राप्त भएको छ। तर अझ पनि श्रमिकहरूका वेतनवृद्धि अहिलेको महँगी जमानानुसार नभएकोले लगातार धरना, प्रदर्शन, आक्रोश व्यक्त भइरहेको छ। 

17 जुलाई 2018 मा श्रमिकहरूका विविध मागबारे उत्तरकन्यामा बैठक बसेको थियो। यस बैठक अघि विश्वकप फूटबलको रौनकतासित दार्जीलिङ चियाको भाउको प्रासङ्गिकता जोड्‌दै उनले भने विश्व कप फूटबल खेलका खबरहरूमध्ये एउटा खबर अनुसार विश्व कपमा 1 कप चियाको मूल्य 300/- रु. अधिक थियो। सोही मूल्यबारे इण्टरनेटमा जाँच गर्दा पाइएको तथ्याङ्‌क अनुसार 1 ग्राम दार्जीलिङ चियाको मूल्य रु. 250/- देखि रु. 750 पुगेको थियो। जोइण्ट फोरम पहाड़ समितिका प्रवक्ता सुनील राईले 1 ग्राम चियाको मूल्यको हिसाबले 1 किलो चियाको मूल्य बराबर दिइए एकजना श्रमिकले 2 हजार रुपियाँ भन्दा धेरै रोज पाउने अड्‌कल लगाएका छन्‌। 

भारत स्वतन्त्र हुन्‌ 5-6 वर्ष अघि गुजरातको खेड़ा जिल्लामा त्यहाँका कृषकहरूको एकमात्र जीविका उपार्जनको साधन थियो गौपालन। भारतको दक्षिण पश्चिमको पठार मालभूमिमा अवस्थित यो स्थान साह्रै खेतीयोग्य नभएकोले गाई, भैंसी पालेर दूध, दही बिक्री गरेर गौ पालकहरू जीविका निर्वाह गर्थे। तिनताक यहाँ ब्रिटिश सरकारले बम्बई महानगरीमा दूध सप्लाई गर्नको निम्ति एकजना निजी ठीकादार पोलसन डेरीलाई ठीका दिएका थिए। तर त्यो बदमाश पोलसन डेरीले ग्वालावर्गलाई उत्पीड़न गर्न थाल्यो। आफूले मन परेको ग्वालाको दूध फर्काइदिने। फेरि मनपरीको दाम। ग्लावावर्गले दूधको सही मूल्य पाउँदैन थिए। उनीहरूको गरिखाने अरू उपाय पनि थिएन। यसले गर्दा वाध्य भएर पोलसन डेरीलाई दूध दिनै पर्थ्यो। कोही बेला पोलसन डोरीले दूध दिनै पर्थ्यो। कोही बेला पोलसन डोरीले दूध लिन नमान्दा दूधको भर्ती केन नालामा घोप्ट्याउनु पर्थ्यो। यस्तो असहाय अवस्था हुँदा यो विकट समस्याको समाधान खोज्दै तिनीहरू स्वतन्त्रता संग्रामी सरदार बल्लभ भाई पटेलकहाँ गए। तिनीहरूलाई यो विकट परिस्थितिदेखि पार तरेर समस्याको समाधान कोअपरेटिभ माध्यमद्वारा गर्नु भनेर उनले सुझाउ साथै कोअपरेटिभको नियम कानूनहरू पनि बुझाइदिए। 

यसरी गुजरातको खेड़ा जिल्लाका ग्वालाहरूले कोअपरेटिभ सोसाइटी खोलेर प्रथम दिनमा नै 250 लिटर दूध संग्रह गरे। यसरी खूबै ईमानदारी र लगनशीलताको साथ साथै अति उत्साहित भएर काम गर्दै जाँदा तिनीहरूले अति अल्प समयमा राम्रो मुनाफा कमाउदै गए। 

कोअपरेटिभ सोसाइटीको नियमअनुसार उनीहरूले नाफाको केही अंश बोनसको रूपमा ग्वालावर्गमाझ वितरण गरे। दूधको दाम नियमित रूपले पाउन थाले। लेखा परीक्षाको रिपोर्ट अनुसार सबै हिसाब किताब पारदर्शी भएकोले ग्लावावर्ग सबै सन्तुष्ट भएर अझ बढ़ी दूध संग्रहमा वृद्धि हुन थाल्यो। दूधको व्यापारमा राम्रो मुनाफा भएकोले तिनीहरूले मुनाफाको केही अंश पशु चिकित्साको निम्ति पशुका सन्तुलित आहारको निम्ति गौ प्रजननको निम्ति पनि खऱ्च गर्न थाले। दूधको संग्रह बेसी हुँदै गएकोले उनीहरूले दूध पाउडर, घिउ, छुर्पी आदि विभिन्न उत्पादन गर्न थाले। एक समय आर्थिक विषमताले पिसिएका यी ग्वालावर्गले कोअपरेटिभ सोसाइटी खोलेर गरेको व्यवसायबाटै ‘आनन्द मिल्क प्रोडयुसर्स कोअपरेटिभ युनियन’ अर्थात्‌ ‘अमुल’ को स्थापना गरे।

यसरी दूधको संग्रह बढ़दै गयो। सोसाइटीको संख्यामा वृद्धि भयो। यही हिसाबले असल व्यवस्थापनको पनि जरूरी भएकोले असल र इमान्दार व्यवस्थापकको खोजी भइरहेकै समय भारत सरकारको छात्रवृत्ति पाएर अमेरिकाको मिचिगन युनिभरसिटीबाट मेकानिकल इञ्जिनियरिङ्गमा मास्टर गरेका भी. कुरीयन 1949 सालमा यो अमुलमा तिनताकको समाज सेवक, राजनैतिक सचेतक त्रिभुवनदास पटेलको आग्रहमा प्रवेश गरे। उनको कर्त्तव्य निष्ठा, निःस्वार्थ सेवाले गर्दा उनी भारतवर्षमा श्वेत आन्दोलनका नेता भए। उनको कुशल नेतृत्वले यति शीघ्र विकास गऱ्यो कि यो ‘अमुल’ तिनताकका प्रधानमन्त्री लालबहादुर शास्त्रीको कानसम्ममा पुग्यो। सरकारी डेरी फार्महरू नोक्सानमा चलिरहेको छ। मरणासन्न अवस्थामा छ तर यो कोअपरेटिभ सोसाइटीद्वारा संचालित डेरी मुनाफामा चलिरहेको छ। यसको विशेषता, विश्वसनीयता बुझ्न स्वयं लालबहादुर शास्त्री ‘अमूल’ भ्रमण गरेर अमूलकै प्रतिकृति स्वरूप जम्मै राज्यहरूमा खोलिन पर्छ भनेर 1964 सालमा हिमुल, सिमुल आदि खोले। ‘नेशनल डेरी डेवलोपमेण्ट बोर्ड’-को स्थापना भयो। तर सहकारिताको  भावना नभएको, इमान्दारीपना, सहिष्णुता, त्याग, कठोर परिश्रम गर्ने बानी नभएका र मूलतः युनियनवाजीले गर्दा यी सहकारी संस्थाहरू विलीन प्रायः भइसके। केवल सिक्किमको सिमुल जीवित अवस्थामै छ। 

जुन प्रकारले ‘अमुल’ भारतको मात्र नभएर सम्पूर्ण एशियामै खूबै सफलतापूर्वक सञ्चालन भएको कोअपरेटिभ सोसाइटी मानिन्छ। यो कलमकारको यस लेखनको उद्देश्य पनि हो कि यो ‘अमुल’ जस्तै प्रकारले चिया कमान सञ्चालन गर्न सकिँदैन? चियाको खेती शुरू भए यता हाम्रा वरिष्ट अनुभवी मेनेजर, सुपरिन्टेण्डेन्ट, टि. प्लान्टर्स श्री हरिश मुखिया, श्री एल.बी. देवान, श्री एल. एम. लामा जस्ता धेरै लेखक, परामर्शदाता जसले चिया उद्योगको विषयमा भरिपूर्ण जान्दछन्‌-चिया श्रमिकवर्गका रोदन, क्रन्दन, कहानी, कथा व्यथा लेखेका छन्‌, आफ्नो अधिकार र हकको निम्ति आत्महत्या र आन्दोलन अवधि मृत्यु वरण गर्ने श्रमिकहरू र आफ्नै क्षेत्रका दूरगामी सर्वतोमुखी विकासको निम्ति डा.भी कुरियनले देखाएको पथ अनुसरण गर्न सक्दैनन्‌?

विश्वमा धेरै क्रान्तिले शान्ति ल्याएको सर्वविदित छ। मैले खाउँ, मै लाऊँ, सुख सयल मोज मै गरूँ भन्ने कमान मालिकको ढीटपनालाई दैनिक खाटिखाने हजारौं हजार मजदूरहरूले पाश्चात्य साहित्यका प्रसिद्ध कवि पर्सी विश शेलीको निम्न उद्‌धृत क्रान्तिकारी कविताले मार्गदर्शन गरि दिनु पर्नेः-

छर्छौ तिमी बाली, उठाउने अर्कै छ;

कमाउँछौ तिमी पैसा, थुपार्ने अर्कै छ;

बुन्छौ तिमी, लुगा लगाउने अर्कै छ;

बनाउँछौ तिमी, हतियार भिर्ने अर्कै छ।

छर बीउ, तर अत्यचारीलाई बाली उठाउन नदेऊ;

कमाऊ पैसा, तर फटाहालाई थुपार्न नदेऊ;

बुन लुगा, तर अल्छेलाई लाउन नदेऊ;

बनाऊ हतियार, तर आफ्नै रक्षाका लागि लेऊ।

यसरी कमान मालिकवर्गको अन्याय अत्याचारको घोर विरोध गर्दै आफ्नो हक र अधिकारको निम्ति संगठित रूपले शोषित मजदूरहरूले निम्न कवितामा कवि शेलीले भने झैं विद्रोहको शंखनाद गर्नुपर्ने हो -

निद्रा धेर भयो, अब सिंह झैं भई

जित्नै नसकिने संख्यामा उठ,

निद्रामा तिमी माथि परेका हत्कड़ीलाई 

शीतका थोपालाई झैं झटारेर फाल,

तिमीहरू धेरै छौ, अत्यचारी थोरै छन्‌।