मुकुन्दराज ओली
2017 सालमा भएको जोरदार आन्दोलनमा दार्जीलिङमा पुलिस र केन्द्रिय बलको कड़ा कार्वाही हुनेथालेपछि आन्दोलनकारी गोर्खा जनमुक्ति मोर्चा नेताहरूमा भागाभाग शुरू भयो। पुलिसको कार्वाहीमा 13 जना आन्दोलनकारीहरू शहीद भए। विमल गुरूङ अनि रोशन गिरी लगायत गोजमुमो शीर्ष नेता कार्यकर्ताहरू भूमिगत भए। सैकड़ौंलाई जेलमा थुनियो। त्यस समय मैदानमा रहेर आन्दोलनलाई नेतृत्व दिने अनि मोर्चामा तेस्रो शीर्ष नेता मानिने विनय तामाङ मात्र थिए। शुरूमा तामङ आन्दोलनको पक्षमा लड़े। अन्य मोर्चा नेताहरूलाई पुलिसले पक्राउ गर्दा, भूमिगत हुन बाध्य गराउँदा तर प्रशासनले विनय तामाङलाई केही गरेन, खुला छोड़िदियो। यसपछि भएको राजनैतिक चलखेलमा अचानक विनय तामाङ गोर्खाल्याण्ड आन्दोलन छोड़ेर राज्यको तृणमूल कंग्रेस सरकारसँग मिल्न गए। पहाड़मा रक्तपात बन्द गराउन आगो निभाउन र शान्ति स्थापनाको निम्ति आफू राज्य सरकारसित मिलेको तिनको भनाइ थियो। राज्य सरकारले उपहारस्वरूप विनय तामाङलाई जीटीए बीओएको चेयरम्यान बनायो अनि विनयका सहयोग अनीत थापालाई भाइस चेयरम्यान। यसपछि विमल-रोशनहीन दलका अध्यक्ष पनि विनय तामाङ भए, जुन दलको नाउँ भयो गोजमुमो (विनय)। विनयले पछि जेलबाट छुटाएका नेता अनि कार्यकर्ताहरू कोही करले अरू कोही रहरले तिनको पार्टीमा आए। यसरी आफ्नो पार्टीको सर्वेसर्वा र अध्यक्ष रहेका, यहाँसम्म पार्टी पनि आफ्नै नाउँमा रहेको गोजमुमो (विनय)-बाट विनय तामाङले आज आएर अचानक अध्यक्ष र साधारण सदस्यताबाट राजीनामा दिए।
गोजोमुमो विनय शिविरबाट यसरी विनय तामाङको राजीनामा सबैका लागि एउटा अप्रत्याशित घटना थियो तर पार्टीका अन्य कतिपय शीर्ष नेताहरूका लागि यो अवश्यम्भावी थियो। पार्टीमा हालका दिनहरूमा परिस्थिति यस्तै प्रकारको निर्माण भएको थियो। झाड़ुले बढ़ार्नुपर्ने कसिंगर हावाले उड़ाइदियो भने जस्तै भयो। 2017 सालमा विनय तामाङ जब पार्टीका अध्यक्ष अनि जीटीए प्रमुख थिए तब तिनी सर्वेसर्वा थिए। यसको कारण सत्ता र संगठन तिनको हातमा थियो। पार्टीमा सबै तिनका अघि-पछि रहन्थे। त्यसबेलाका पार्टी महासचिव अनि जीटीए भाइस चेयरम्यान अनीत थापाको त्यति सोधखोज थिएन, तिनी लो-प्रोफाइलमा थिए। 2019 सातको लोकसभा चुनाउमा गोजमुमो (विनय) समर्थित तृणमूल कंग्रेस उम्मेद्वार अमरसिंह राई भारतीय जनता पार्टीका उम्मेद्वार राजु विष्टसित व्यापक मतले पराजित भए। दार्जीलिङका विधायक रहेका राईले लोकसभा चुनाउ लड़्न विधानसभा आसनबाट त्यागपत्र दिएका थिए। यसपछि रिक्त दार्जीलिङ विधानसभा उपचुनाउ गरियो। उक्त चुनाउमा भाग लिन विनय तामाङले जीटीए चेयरम्यान पदबाट राजीनामा दिए। त्यसपछि विनयको ठाउँमा अनीत थापालाई जीटीए बीओए चेयरम्यान बनाइयो। उपचुनाउमा विनय तामाङ भाजपा प्रार्थी नीरज जिम्बासँगा नराम्रो घतले पराजित भए।
यसरी विधान सभा चुनाउ हारे भने जीटीएको बागडोर पनि विनय तामाङले गुमाए। अनीत थापा जीटीए चेयरम्यान भएदेखि नै विनय तामाङको पतनको थालनी भएको थियो। शुरू-शुरूमा यो कुरा नबुझिए पनि कालान्तरमा जीटीए सत्तालाई काममा लगाएर अनीत थापाले जनगण अनि पार्टीमा आफ्नो प्रभाव बढ़ाउन थाले। सत्ताको केन्द्र भएकाले जनता अनि पार्टी समर्थकहरू पनि सोझैं अनीतको सम्पर्कमा रहे। प्रशासनिक अनि दलको सांगठनिक क्रियाकलापमा अनीत थापाकै बिगबिगी हुँदै गयो। चारैतिर अनीत नै छाइरहे, विनय तामाङ नाउँको मात्र अध्यक्ष रहे, थपना जस्तो। तिनी जनसाधारण अनि संगठनमा कम देखिन लागे। बंगाल विधानसभा चुनाउमा दार्जीलिङ, कालेबुङ अनि खरसाङ आसनमा दलीय प्रार्थीहरूका लागि चुनाउ प्रचारमा अनित थापा नै अग्रसर रहे, विनय तामाङको उपस्थिति कमै रह्यो। चुनाउमा दार्जीलिङ र खरसाङ आसनमा पराजित भए पनि कालेबुङमा विनयपन्थी मोर्चा सामान्य मतले विजयी भयो। दार्जीलिङमा केशवराज पोखरेल अनि खरसाङमा छिरिङ दाहाल भाजपासँग पराजित भए पनि दल दोस्रो स्थानमा रह्यो। तीनैवटा आसनमा पहिलाको तुलनामा विनयपन्थीहरूको मतमा व्यापक वृद्धि देखियो। उता गोजमुमो विमल गुरूङ शिविर तीनैवटा आसनमा तेस्रो स्थानमा रही पराजित भयो। कालेबुङबाट विनय शिविरका रूदेन सादा लेप्चा विधायक बने। अनीत थापाले दललाई पहाड़बाट सर्वाधिक मत पाउने एक्लो दल रहेको बताए। यसरी पहाड़मा धेर मत पाएको र एकजना विधायक बनेको श्रेय सम्पूर्ण रूपले अनीत थापाले लिए। विनय तामाङ किनार लागे। दलमा लगभग एक्लो परिरहेका विनय तामाङले अचानक सबै ठाउँमा संगठन भंग गर्दै संयोजकहरू नियुक्त गरे कसैले कुनै प्रकारको बयानबाजी गर्न नपाउने र आफ्नो निर्देश बाहेक कसैले कुनै प्रकारको बयानबाजी गर्न नपाउने र आफ्नो निर्देश बाहेक कसैले केही नगर्ने फरमान नै जारी गरे। विनयको यसप्रकारको क्रियाकलापले दलमा भित्रभित्रै असन्तुष्टि शुरू भयो तर सोझै विरोध भने कसैले गर्न सकेका थिएनन्। तर यसैबीच अनीत थापाको विभिन्न बयानमा अध्यक्ष तामाङसँग विरोधाभास देखा परिरहेको थियो। यसै बीच गत 13 जुलाई दार्जीलिङको चौरस्तामा सरकारी तवरमा आयोजित 207 औं भानुजयन्ती समारोहमा पहाड़का नेताहरूमध्ये अनीत थापालाई मात्र बोलाइयो। यसले राज्य सरकारले पनि अनीत थापालाई नै महत्व दिएको बुझियो।
यस्तै परिवेशहरूको माझ गत 15 जुलाई 2021 का दिन आफ्नै घरमा पत्रकारहरूलाई बोलाएर विनय तामाङले पार्टी अध्यक्ष अनि प्राथमिक सदस्यताबाट राजीनामा दिएको घोषणा गरे। यो घोषणा तिनी लामो समयदेखि दलमा उपेक्षित भएको परिणति हो। तिनले राजीनामा पत्र महासचिव अनीत थापा र उपाध्यक्ष सतीश पोखरेललाई पठाए। यो त ठीकै हो तर सँगसँगै विनय तामाङले आफ्नो राजीनामा पत्र मोर्चा संस्थापक अध्यक्ष विमल गुरूङ अनि रोशन गिरीलाई पनि पठाए, जुन कुराले सबैलाई चकित बनायो। यति मात्र होइन तामाङले विमल गुरूङलाई झण्डाको असली मालिक भनेर तिनलाई दलीय झण्डाहरू पठाइदिने घोषणा पनि गरे र भोलिपल्ट नै पातलेवासमा गोजमुमोका झण्डाहरू पठाइदिए पनि। 2017 को आन्दोलन पछि प्रत्येक ठाउँ विमल गुरूङको विरोध गर्ने र अब पहाड़मा गुरूङको ‘च्याप्टर क्लोज’ भयो भन्ने साथै गत वर्ष अक्टोबरमा विमल गुरूङ विस्थापनबाट तृणमूल कंग्रेसको सहायतामा निस्केर पहाड़ जान लाग्दा आफूले हरियो झण्डा देखाएपछि मात्र गुरूङ पहाड़ चढ्न पाउने र गुरूङ आफ्नो विषय नरहेको भन्ने विनय तामाङले राजीनामा पछि पार्टी र झण्डाको असली मालिक विमल गुरूङ रहेको र आफूले यतिका दिनसम्म झण्डाको चौकीदारी मात्र गरेको र अब असली मालिक आएपछि तिनलाई जिम्मा लगाइदिएको बताउनुमा तिनको मन अनीत थापा र दलप्रति नराम्रोसँगले भाँचिएको प्रतीत हुँदछ। जाँदाजाँदै विनय तामाङले अनीतहरूलाई अबउसो दललाई विनयपन्थी भनेर नचलाउनू भनी सचेत पनि गराउँदै गए। वास्तवमा चुनाउ आयोगसम्म दुवै मोर्चा विमलपन्थी र विनय पन्थीको रूपमा उल्लेखित छ अनि दलको असली हकरा को हुने भन्ने विषय न्यायालयमा विचाराधीन छ। यस्तोमा विनय तामाङले आफ्नो नाउँको पार्टी नराखेपछि अब सिंगो गोजमुमो विमल गुरूङको नै हुने सम्भावना देखिएको छ भने अनीत थापाहरूले नयाँ दल गठन गर्नुपर्ने स्थिति आइपर्ने सम्भावना पनि देखिन्छ।
राजीनामा दिएपछि विनय तामाङले आफूले अब राजनीतिको तेस्रो अध्याय शुरू गर्ने घोषणा पनि गरे। तिनले यो अध्याय कसरी र कहाँबाट शुरू गर्ने भन्ने खुलासा गरेनन्। विद्यमान कुनै पनि दलमा नजाने संकेत पनि तिनले दिए। विमल गुरूङले तर आफ्नो दलको ढोका तामाङका लागि खुला रहेको बताएका छन्। तामाङको भावी रणनीति कस्तो हुने हो? भन्ने समयमा सबैले जान्न पाउने छन् नै। यता तामाङको राजीनामाको भोलिपल्ट नै अनीत थापाले खरसाङमा दलको (गोजमुमो-2!) सभा डाके। सभामा थापा दलमा कार्यकारी अध्यक्ष चयन भए र महासचिवको पद पनि तिनले नै सम्हाल्ने भए। थापालाई किन सोझै पूर्ण अध्यक्ष बनाइएन? यो पनि एउटा सोधनीको विषय छ। कार्यकारी अध्यक्ष भएको लगत्तैपछि अनीत थापाले विनय तामाङले गरेको सांगठनिक हेरफेरलाई रद्द गर्दै पुरानै अवस्था बहाल राखे। यसको अर्थ थापा तामाङको निर्णयप्रति सन्तुष्ट थिएनन्। दलमा पहिलेबाटै विनय तामाङप्रति असन्तुष्टि पलाउँदै गएको प्रतीत हुँदछ। यहाँसम्म कि तामाङले राजीनामा नदिएको भए तिनलाई पार्टीबाट नै हटाउने परिकल्पना पो थियो कि! भन्ने सन्देह पनि देखिन्छ।
जे होस्, विनय तामाङको राजीनामापछि के अब पहाड़-तराई-डुवर्समा गोजमुमो दलको एकछत्र अधिकार विमल गुरूङको मात्र हुने हो? अनीत थापाहरूले नयाँ दल गठन गर्नुपर्ने बाध्यता आउनेछ? विनय तामाङको राजनीतिको तेस्रो अध्याय कहाँबाट शुरू हुनेछ? केही समयपछि जनताले यी सबै प्रश्नहरूको उत्तर पाउनेछ। त्यतिञ्जेलसम्म घटनाक्रमले कुन मोड़ लिने हो, त्यो हेर्न बाँकी छ।

