सम्पादकीय

 

समय थामिदैन, यो निश्चित छ। हुँदाहुँदै 2021-को आधा वर्ष बित्यो। अब हाम्रा चाड़-बाड़हरू पनि छेउछाउ आउन थाले। कटुवाल जयन्ती, भानुजयन्ती, यी चाड़हरू हामीले सतर्क भएर साधारण अनि औपचारिक रूपमा जसोतसो मनायौं। भाषा दिवसको चाड़ पनि हामीले सम्भवतः यसरी नै मनाउँला। यस अघि स्वाधीनता दिवसको राष्ट्रिय चाड़ पनि राष्ट्रले यसरी नै मनाउला, यो निश्चित छ। तरेली तरेली गरेर कोरोनाका छालहरू पनि छछल्किएर आउँदैछन्‌। हाम्रा धार्मिक चाड़हरू पनि अब लहरै आउने नै छन्‌। कोरोनादेखि जोगिनु छ, चाड़ पनि मनाउनु छ, आस्थाको कुरो छ। यसरी नै दिन जाँदैछन्‌।

राष्ट्रिय स्तरको राजनीतिको हुरी पनि चलेकै छ। केन्द्रमा मन्त्रीमण्डलको विस्तार भयो। 12 जनाको पत्ता काटियो। 36 जना नयाँ शामिल भए। यसपाली केन्द्रमा नयाँ 11 जना महिलाहरूलाई पनि मन्त्री पदले सिंगारियो, डुवर्स क्षेत्रबाट पहिलोचोटि जोन बारलालाई पनि मन्त्री पद दिइयो। जातीय समीकरण र आउँदो वर्ष हुने चुनाउलाई ध्यानमा राखेर उत्तर प्रदेशका सातजना सांसदलाई मन्त्री बनाइयो। यो सबै राजनैतिक समीकरणको खेल हो।

कोरोनाको रोकथामका लागि टीकाकरणको अभियान चलिरहेको भए पनि यसले भने जस्तो गति लिन सकेको छैन जस्तो लाग्छ। एक सय उनन्चालीस करोड़को प्रश्न छ। असम र युपीमा जनसंख्या नियन्त्रण हुनुपर्छ नत्रता यसको विस्फोटले देशलाई नै पिरोल्छ भन्ने कुरो चल्दैछ र यी राज्यहरूले यसका लागि कानून बनाउने जमर्को कसिसकेका छन्‌। देशमा ‘एउटै नागरिक संहिता र एउटै कानून’ भन्ने केन्द्रको सिद्धान्तलाई ध्यानमा राखेर यो कदम चालिएको हो। यसका लागि विपक्षीहरूले अलग्गै राग भैरव अलापेर यसका विरोधमा उनीहरू जुर्मुराएका छन्‌, राजनैतिक स्वार्थ हो।

बङ्‌गाल विभाजन हुनु पर्छ र ‘उत्तर बङ्‌गाल राज्य हुनु पर्छ’ भन्ने आलाप जोन बारला लगायत अरू कतिपय सांसदले गाउन थाले पनि केन्द्रले मुख फोरिहालेको छैन।

दार्जीलिङ सिक्किममा गाभिनु पर्छ र यो बङ्‌गालबाट छुट्टिनै पर्छ भन्ने होहल्ला पनि पहाड़मा हुँदैछ तर यसमा सिक्किमको लिनु दिनु केही छैन, उसको आफ्नै स्वार्थ छ र त्यसमा धक्का पर्ने काम सिक्किमले निश्चय गर्ने छैन। यस्ता कुराको उठान त चामलिङकै पालादेखि घाइँघुर्इं हुँदै आएको हो। ‘गोर्खाल्याण्ड’ भन्ने शब्दको अब घिड़घिड़ो मात्र रहेको छ। एघार होस्‌ कि बाह्र होस्‌, जनजातिको मुद्दालाई पनि अब त ‘थोत्रे बोरामा हालेर राखिएको छ’, जस्तै भएको छ।

फेरि देशकै कुरो गर्नु हो भने, भल-पैह्रो, बाड़ी जस्ता प्राकृतिक प्रकोपले आधा देशलाई नै हाहाकार पारेको छ।

हामी अहिले यस्तै र यिनै समस्याहरूलाई छिचोल्दै अघि बढ्‌ने प्रयासमा छौं। भोलि कस्तो र कुन खाले अर्को मेहेरो आउने हो, त्यो भोलिको दिनले  भन्ने छ। तर सतर्क भएर अब हामी यसरी अभ्यास्त भएर बाँच्न सिक्नु पर्ने स्थिति आएको छ र सतर्कता नै अब हाम्रो मूल मन्त्र हुनेछ, यो निश्चित देखिँदैछ।