अथक उद्यमी :  राजेन शर्मा सुवेदी

  • 2026-10-30 02:19:52

 कृष्ण बस्नेत, महेशमारी

ख हर्रींश श्रशरीपशव ींहरींर् ीीललशीी ळी ीें लश ाशर्रीीीशव पेीं ीेर् ाीलह लू ींहश िेीळींळेप ींहरीं ेपश हरी ीशरलहशव ळप श्रळषश री लू ींहश ेलीींरलश्रशी ुहळलह हरी हरव ीेंर् ेींशीलेाश ुहळश्रश ीीूंळपस ीेंर् ीीललशशव.

-इेेज्ञशी.ढ.थरीहळपसीेंप 

सांस्कृतिक, साहित्यिक, सामाजिक, राजनीतिक, धार्मिक, कलाकारी आदि यावत क्षेत्रमा रहेका व्यक्तित्वहरूका बारेमा धेरथोर चर्चा गरिए तापनि उद्योग क्षेत्रमा स्थापित सङ्‌घर्षसील व्यक्तित्व एवं तिनीहरूका उद्यममाथि कमै चर्चा हुन्छ हाम्रो समाजमा। लेखकका पुस्तक छपाउन यिनै उद्यमीहरू प्रकाशक बनिदिन्छन्‌ कलाकारका निम्ति यिनै उद्यमीहरू निर्माता बनिदिन्छन्‌, सामाजिक सङ्‌घ-संस्था धार्मिक अनुष्ठानादि यिनै उद्यमीहरूका अनुदानले चलिरहेका हुन्छन्‌। यस्ता साना ठूला धेरै उद्यमीहरू छन्‌ हाम्रो समाजमा। उनीहरूका पनि आफूलाई स्थापित गर्न गरिइएको सङ्‌घर्षका कथाहरू छन्‌। नेपालीहरू व्यापार उद्योग गर्न सक्दैनन्‌ भन्ने मानसिकतालाई निमिट्यान्न पार्न यी कथाहरू यथेष्ट छन्‌। सफलता होइन, सफलताका बाटामा आएका बाधाहरू तथा त्यसबाट पार पाउन गरिएका सङ्‌घर्षका आधारमा सफल व्यक्तित्त्वको मूल्याङ्‌कन भएको हुनुपर्छ भनी बुकर वशिङ्गटनले शायद त्यसैले भनेका हुन्‌। ठूला ठूला स्थापित व्यक्तित्त्वहरूबाट मात्र होइन, हाम्रै घर आँगनका, हाम्रै समाजभित्रका स-साना उद्यमीहरूका सङ्‌घर्षका कथाहरू पनि ठूलो प्रेरणाका श्रोत हुनसक्छन्‌। यस्तै श्रोतका एक ज्वलन्त दृष्टान्त हुन्‌ सिलगढ़ी बाबुबासा निवासी श्री राजेन शर्मा सुवेदी। उसो त सामाजिक क्षेत्रमा यिनको छुट्टै पहिचान छ। सिलगढ़ी एवं निकटवर्ती ठाउँका  प्रत्येक सामाजिक, धार्मिक तथा सेवामूलक कार्यमा यिनको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेकै हुन्छ। यिनको पहुँच अहिले देशका शीर्षस्थ नेतृवृन्दसम्म पनि रहेको देखिन्छ तर यहाँ उनका अन्य उपलब्धी भन्दा विशेष रूपले व्यापारिक व्यक्तित्व एवं सङ्‌घर्षमाथि चर्चा गरिन्छ। 

20 अगस्त 1968 मा असमको तेजपुर मिसामारीमा पिता चिरञ्जीवी सुवेदी अनि माता गोमादेवीको कोखमा परिवारको ठाइँलो सन्तानको रूपमा जन्म ग्रहण गरेका श्री सुवेदीले आफू डेढ़ वर्षको हुँदा पिता गुमाउनु पऱ्यो। पिताको मृत्यु भएपछि परिवारले उनलाई नेपाल लिएर गए। कक्षा आठसम्म नेपालमै पढ़ी बाह्र वर्षको उमेरमा उनी असम फर्के सानै उमेरमा ठूलो सपना बोकेर। वाल्यावस्थादेखि नै अध्यात्मतिर झुकाव राख्ने उनी धेरै धन कमाएर समाज सेवा गर्ने, मन्दिर आश्रम आदि निर्माण गर्ने, अरूलाई रोजगार दिने जस्ता ठूला-ठूला सोच राख्थे। ‘‘सपना अवश्य पूरा हुन्छ तर त्यसको निम्ति पहिले सपना देख्नु पर्छ’’ अब्दुल कलामले भने झैं उनले पनि पूरा होस्‌ नहोस्‌, धेरै सपना बुने।

सन्‌ 1980 मा बाह्र वर्षको कलिो उमेरमै उनी गौहाटीको ‘ब्लु हिल ट्राभल एजेञ्सी’-मा जागीर खान थाले। बिहान बेलुकी काम गर्दै नवौं र दशौंको परीक्षा उत्तीर्ण गरे। त्यसपछि भने जीवन सङ्‌घर्षमा पूर्ण होमिनु पर्दा शिक्षालाई अघि बढ़ाउन सकेनन्‌। कम्पनीले उनलाई सन्‌ 1982 मा सिलगढ़ीमा एजेञ्सीको विस्तार गर्ने अभिभारा दिएर पठायो। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मानिसहरूमाझ स्वयंलाई शीघ्रतिशीघ्र अनुकूल बनाउन सक्ने अनि घुलमिल हुनसक्ने उनको अद्‌भूत प्रतिभा थियो। उनले सिलगढ़ीको जंक्शन क्षेत्रमा ‘दिनबन्धु दे’ र ‘प्रकाश लामा’-लाई साथ लगाएर ‘ब्लु हिल ट्राभल एजेञ्सी’-को शाखा खोले। विदितै छ, ‘गाड़ी लाइन’-मा ‘छट्टुपन’ र ‘दादागिरीपन’ बिना दिगो टिक्न गाह्रो हुन्छ। बङ्गालमा त्यही पनि सिलगढ़ीको जंक्शन जस्तो ठाउँमा जरा गाड्‌न केवल नेपाली मात्र समातेर सम्भव थिएन। श्री सुवेदीले एक नेपालीसितै एक अनेपाली, त्यही पनि स्थानीय ‘दादा’ ‘दिनबन्धु दे’-लाई आफ्नो साथमा लिई एजेञ्सीको जग बसालेर 14 वर्षको कलिलो उमेरमै एक परिपक्व व्यापारिक मस्तिष्कको परिचय दिए। ‘दादागिरी’-मा मात्र टिक्न सकिने ‘गाड़ी लाइन’-को क्षेत्रमा उनलाई उच्छेद गर्न खोज्ने ‘दादा’-हरू पनि नआएका होइनन्‌। तर असीम आँट र बलिष्ठ छाँट-का सुवेदी त्यसै हल्लिने खाल्का थिएनन्‌। उनले एकदिन एक्लैले आठ-नौ जना अनेपाली ‘दादा’-हरूलाई उच्चालेर थेचारे, गोर्खे ताकत देखाइदिए। दादाहरूले सूइँकुच्चा ठोके। उनका साथी ‘दिनबन्धु दे’ जो स्वयं पनि सीमा सुरक्षा बलका पलायन सैनिक थिए, सुवेदीको साहस र शौर्य देखेर अचम्भित भए। उनले आफ्ना कमाण्डिङ अफिसर मामालाई भनेर श्री सुवेदीलाई सेनामा भर्ना गराए। यसरी श्री सुवेदी आफ्नो सपना साकार गर्न अब सरकारी जागिरे हुनपुगे। पाँच छः महीना सेनाको तालीम पनि लिए तर सधैँको ‘जी साब’ र ‘ओके साब’- भन्दै महीनाको तीनसय वेतन थापेर आफ्नो सपनालाई विपना बनाउन सम्भव नभएको उनले अनुभव गरे।

यसैबीच नागाल्याण्डमा एउटा ठूलो ‘हाइडल प्रोजेक्ट’ बसाउने कार्यको निम्ति ‘हिन्दुस्तान कन्स्‌ट्रक्शन कम्पनी’-बाट पूर्ण सर-सुविधासहित मासिक 2500 वेतन दिने जागीरको उनलाई प्रस्ताव आयो। मासिक 300 देखि एकैचोटि 2500, त्यही पनि अन्य सुविधासहितको प्रस्ताव आउँदा उनी सेना छोड़ी कम्पनीमा लागे। कम्पनीलाई नागाल्याण्डको नयाँ ठाउँमा, नयाँ मानिसहरूसित तालमेल मिलाई नयाँ प्रोजेक्ट शुरू गर्न स्थानीय भाषाका जानकार समेत रहेका श्री सुवेदी जस्ता व्यक्तिकै आवश्यकता थियो जसका विषयमा हिन्दुस्तान ‘कन्स्‌ट्रक्शन कम्पनी’-का मालिकलाई तिनका मित्र रहेका ‘ब्लु हिल ट्राभल एजेञ्सी’-का अर्थात्‌ श्री सुवेदीका पूर्व मालिक ‘रविन दत्त’ स्वयंले अवगत गराएका थिए। यसप्रकार नागाल्याण्डको उखड जिल्लाको दोचाङ नदीमा ‘हाइडल प्रोजेक्ट’ एवं बस्ती बसाल्ने कार्यमा उनले ठूलो भूमिका निभाए। 

परिश्रमी, लगनशील, आफ्नो सबैभन्दा प्रिय एवं प्रतिभावान ‘स्टाफ’-लाई अर्को कम्पनीमा पठाएर आफ्नो भने एजेञ्सी खस्कँदो अवस्थामा पुगेको देखी रविन दत्त छः महीनामै श्री सुवेदीलाई आफ्नो कम्पनीमा पुनः ल्याउन भनी नागाल्याण्ड पुगे। आफ्नो दुर्दिनमा साथ दिने मालिकलाई उनले निराश पारेनन्‌। उनी फेरि ‘ब्लु हिल ट्राभल एजेञ्सी’-मै फर्की आए। पुरानो कम्पनीमा आउन साथै उनी फेरि नायँ जोशमा एजेञ्सीको विस्तारमा लागे। नयाँ ठाउँमा नयाँ मानिसहरूसित सजिलै घुलमिल गर्नसक्ने आफ्नो विशेष प्रतिभालाई काममा लगाउँदै अल्पावधिमै उनले करीमगञ्ज, र्इंटानगर, डिब्रुगढ़, अगरतला, तीन सुकिया, शिवसागर, सिल्चर, शिलापत्थर, इम्फाल, लखिमपुर आदि विभिन्न ठाउँमा साठी सत्तरवटा शाखा खोली ‘ब्लु हिल ट्राभल एजेञ्सी’-लाई उत्तरपूर्व भारतको शीर्षमा पुऱ्याउन प्रमुख दायित्व पालन गरे।

बढ़ी महत्त्वाकांक्षी तथा ठूलो सपना पालेका श्री सुवेदी यतिमै सन्तुष्ट हुने कुरै थिएन। ‘स्टाफ भएर’ होइन, ‘स्टाफ राखेर’ काम गर्ने उच्चाभिलाषा भएका सुवेदीले आफ्नो लगनशीलता अग्नि कार्यशैलीकै प्रभावको भरमा ‘जीरो’ डाउन पेमेन्टमा सन्‌ 1992 मा दुइवटा नयाँ बस निकालेर आफ्नै एजेञ्सीमा हाली ‘ब्लु हिल’-का ‘स्टाफ’ मात्र नरही हिस्सेदार बन्न पुगे। आफ्नो दुवै नयाँ बस कम्पनीलाई दिएर आफूले भने कम्पनीकै बस चलाउँदै ‘आय श्रोत’ बढ़ाए। सन्‌ 1996 अर्थात्‌ चार वर्षभित्रमा उनले अझ दुइवटा बस किने। यसै वर्षदेखि सिलगढ़ीबाट तीनसुकियासम्म बस सेवाको शुरूवात गर्दै उनले आफ्नै बस चलाउन थाले। चौध वर्षको सानो उमेरमै उनले ठूलो गाड़ी चलाउन सिकिसकेका थिए। 

व्यापारिक विवेकका धनी, उद्यमी श्री सुवेदीका मस्तिष्कमा आफ्नो आय बढ़ाउने उपायहरू स्वतः स्फूर्त आइरहन्थे। आफूले बस कुदाउँदा बसको छानोमा फलफूल, सागसब्जी आदि खाद्य सामग्री पनि लोड गरी अतिरिक्त आयको बाटो खोले। त्यसै गरी सेनामा कार्यरत छँदा बनिएको परिचय र अनुभवलाई काममा लगाउँदै कानपुर फेक्ट्रीबाट गौहाटी सेना छाउनीमा कानुनी कागजात सहितका हतियार पुऱ्याउने काम पनि उनले गरे। तिनताक असममा उल्फाको हिंसात्मक आन्दोलन चलिरहेको थियो। आतङ्‌ककारीहरू रेल समेत लुट्‌थे। झन्‌ हतियार आएको गाड़ीको सुइँको पाए हतियार लुट्‌न ड्राइभरको ज्यानै लिन्थे। यस्तो भयावह परिस्थितिमा पनि उनले त्यति ठूलो जोखिम उठाउनु उनीभित्र रहेको सपना साकार गर्ने दृढ़ संकल्प नै थियो। सेनामा अक्शन, गरिएका गाड़ीलाई नवीकरण गरी बिक्री गर्नेदेखि लिएर ‘हाइडल प्रोजेक्टहरूमा सामान सप्लाइ गर्ने समेत जीवनका प्रत्येक ‘सम्पर्क’ अनि ‘अनुभव’-लाई उनले उद्यमी हिस्सा बनाए। उनको क्रमिक विकासको मूल सूत्र पनि यही थियो। हाइडल प्रोजेक्टमा जुक्त रहेको अनुभवलाई काममा लगाउँदै आफ्नै हाइडल प्रोजेक्ट शुरू गरे। कोइलाको कारोबार पनि गरे। चुरोट खैनी लागु पदार्थ केही नशा नभएको, व्यवसायलाई नै नशाका रूपमा लिएका उनले घरमै भुजिया निर्माण गर्ने, आलु चिप्स बनाउने, प्याकेटिङ गर्ने जस्ता स-साना व्यवसायमा पनि आफ्नो उद्यम गरिरहे। सन्‌ 2002 मा आएर यिनले ‘बस’-को व्यवसाय पूर्ण रूपेण छोड़े। आफ्नो जंक्शनमा रहेको एजेञ्सी मल्लागढ़ीमा सारी ‘फाइभ्‌ स्टार’ नामक एजेञ्सीलाई जिम्मा लाएर उनी ‘रियल स्टेट’ तथा ‘इण्डस्ट्री’-को व्यवसायमा अग्रसर भए। धर्मभीरु हजुरबाका संसर्गमा रहेकाले सानैदेखि अध्यात्मतिर पनि झुकाव राख्ने, व्यवस्तताबाट समय निकालेर साधना समेत गर्ने उनमा पशुपालनप्रति पनि विशेष लगाउ थियो। आफ्नो पशुपालनको लगावलाई पनि व्यवसायिक रूप दिँदै सन्‌ 2002 मा यिनले अति आधुनिक प्रबन्धसहित गौशाला पनि खोले, दूधको व्यापार बढ़ाए। सन्‌ 2012 मा ओदलाबारी र लगत्तै नक्सलबारीमा ठूलो ‘क्रशर प्लान्ट’ बसाए जो आजसम्म पनि निरन्तर चलिरहेको छ। ‘स्टाफ भएर’ होइन ‘स्टाफ राखेर’ आफूलाई स्थापित  गर्ने आफ्नो सपनालाई उनले कठोर परिश्रम, लगनशीलता र कहिले हार नमान्ने दृढ़ संकल्पित मनोभाव एवं आत्मविश्वासको भरमा विपना बनाइछोड़े। कतिपय व्यवसायको शुरूवातमा उनी असफल पनि नभएका होइनन्‌, कतिपय व्यवसायमा उनी झण्डै नडुबेका पनि होइनन्‌, तर हार नमानी उनले एक पछि अर्को व्यवसायमा हात अज्माइरहे। एउटा चरो कलिलो हाँगोमा बस्दा, हाँगोको भरोसामा होइन आफ्नो पंख अनि उड्‌ने क्षमताको भरोसामा बसे झैं उनलाई आफ्नो क्षमता अनि परिश्रममाथि भरोसा थियो। त्यही आत्मविश्वासकै भरमा आज उनी नेपाली समाजका स्थापित अनि सर्वपरिचित व्यवसायी बनिसकेका छन्‌। उनका विभिन्न व्यवसायहरूमा आज 70-80 परिवारले प्रत्यक्ष रोजगारी गरिरहेका छन्‌। 200 भन्दा बढ़ी परिवार उनकै व्यवसायको सेरोफेरो आश्रित छन्‌। ‘काम गर्नु’ भन्दा पनि ‘काम श्रृजना’ गरी ‘रोजगारी’ दिएर बेकारी समस्या केही हदसम्म हल गर्न पाए हुन्थ्यो भन्ने सानैदेखि उच्च मनोकांक्षा राख्ने श्री सुवेदीले व्यवसायमा व्यापक सफलता पाए तापनि उनी स्वयंलाई ‘व्यवसायी’-को रूपमा परिचित गराउन चाहँदैनन्‌।

धार्मिक मनोभावका श्री सुवेदी सन्‌ 2002 देखि उत्तर चम्पासरीस्थित ‘त्रिवेणी संस्कृत विद्यापीठ’-मा संलग्न रहेर आफूले आश्रम बनाउने देखेको सपनालाई साकार रूप दिनमा प्रयासरत छन्‌। सन्‌ 2002 मै 8000 र्इंटा, 30 ब्याग सीमेन्ट, बिजुली एवं अन्य भवन सामग्री तथा मिस्त्री खर्च समेतको शिरोभार स्वयंले लिएर अन्य स्थानीय दाता एवं शुभचिन्तकहरूमा ऊर्जा भर्दै दयनीय अवस्थामा चलिरहेको यो विद्यापीठलाई यिनले जिर्णोद्वार गर्ने काम गरे साथसाथै एउटा शिव मन्दिर निर्माणको पनि पहल गरे। उनकै निरन्तर प्रयास अनि रेखदेखमा आज यो विद्यापीठ बहुतले भवनमा परिणत हुनका साथै यस क्षेत्रकै एउटा गौरव बन्न पुगेको छ।

सिलगढ़ी एवं निकटवर्ती क्षेत्र साथै असम, सिक्किम, मेघालय, नेपाल आदिका विभिन्न सङ्‌घ संस्थासित यिनी सम्वद्ध छन्‌। यस भेकका प्रत्येक सांस्कृतिक, धार्मिक अनुष्ठानादिमा उनको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेकै हुन्छ। आफ्नो विशेष सामाजिक पहिचान बनाइसकेका श्री सुवेदी एक स्थापित व्यवसायी बनेर पनि यिनमा अभिमान रत्तिभर छैन। धनले जति अमीर त्यो भन्दा सैयौं गुणा मनले अमीर श्री सुवेदी आज पनि बिहान 5 बजेदेखि बेलुकी 10 बजेसम्म निरन्तर काम गर्छन्‌। सिलगढ़ीमै बसी बसी पूर्वोत्तर भारतमा अहिले पनि सरकारी कन्ट्रयाक्ट लिएर सामानहरू सप्लाइ गर्छन्‌। पूर्वोत्तर भारतमै झश्रूुेेवर् ींळपशशी को फ्याक्ट्री यहींबाट सञ्चालन गर्छन्‌। जेसीभी लोडर, डम्पर, व्यवसायिक गाड़ी कुनै कुरोको कमी छैन, कमी छ त घमण्डको कमी छ त काम गर्ने समयको। अग्ला बाँस नुहे जस्तै यिनी जति अग्ला छन्‌ उति नै सबैका निम्ति सरल छन्‌, नम्र छन्‌, बालकदेखि, वृद्धसम्म सबैका प्यारा छन्‌। विरोधीलाई ‘कुटेर’ होइन, ‘हृदय जितेर’ मित्र बनाउने नरमपन्थी विचार राख्छन्‌। गाउँमा प्रतिभाशाली शिक्षितहरू आर्थिक कमजोरीले केही गर्न नसक्दा उनी दुःखी हुन्छन्‌। आफ्नो सक्दो प्रयासले त्यस्ता केही गर्न चाहनेहरूलाई उठाउन खोज्छन्‌, व्यवसाय सिकाउन खोज्छन्‌। ‘‘गरीबलाई माछा नदेऊ, माछा मार्न सिकाऊ’’ भनी माउत्सेतुङ्गले भने जस्तै उनी पनि आजका प्रतिभाशाली युवाहरूलाई ‘माछा दिएर’ आश्रित होइन ‘माछा मार्न सिकाएर’ स्वनिर्भर बनाउन चाहन्छन्‌। धेरै युवाहरूलाई उनले आफ्नो अगुवाइमा औद्योगिक कार्यशालाहरूमा लगी, उद्योगको तालीम गराई, उनीहरूलाई आफ्नो उद्योग खोल्नमा प्रोत्साहित गरेका छन्‌। जीवन सङ्‌घर्षमा सानैमा होमिन परेकोले उच्च शिक्षा प्राप्त गर्न नसके तापनि अनुभवकै शिक्षा अनि आफ्नो प्रतिभाले गर्दा आज उनको उठ्‌बस ठूला-ठूला शिक्षाविद्‌हरूसित हुनेगर्दछ। देश चलाउनेहरूसित उनको सोझो सम्पर्क छ। संस्कृतमा हाल डिप्लोमा गरिरहेका श्री सुवेदी विश्वविद्यालय तहकाहरू समेतलाई ‘अनलाइन बौद्धिक’ दिने गर्छन्‌। यसरी थाहै नपाई ‘पीपल’ झैं झ्याङ्गिएका श्री सुवेदी आफू झ्याङ्गिएकोमा गर्व गर्नुभन्दा आफूले शीतल छायाँ दिन पाउनुमा बढ़ी आनन्दानुभूति पाउँछन्‌। 

तनमा एकसरो कपड़ा लिएर संसारसित जुझ्न निस्किएका श्री सुवेदीले आफ्नो परिश्रमी र उद्यमी स्वभावकै कारण आफूलाई स्थापित गरे। आफू मात्र स्थापित भएनन्‌ धेरैलाई स्थापित गराए। आफूले पढ्‌न नपाए तापनि आफ्ना परिवारजनका सन्तानलाई उच्च शिक्षा दिलाउन उनले कुनै कसर छोड़ेनन्‌। सबैलाई सहयोग पुऱ्याए, पुऱ्याइरहेकै छन्‌, ईश्वरले पनि उनलाई पुऱ्याइदिएकै छन्‌। गरीबले पनि सजिलै उपचार गर्न पाउन्‌, कलेजमा पढ्‌न पाउन्‌ भन्ने सेवाभाव राख्दै आफ्नै नर्सिङ होम, कलेज आदि बनाउने योजनामा अहिले उनी मौन रूपमा लागिपरेका छन्‌। आफ्नो चर्चा र मपाई त्यति नरूचाउने, मौनतामा रहेरै सेवा पुऱ्याउन चाहने श्री राजेन शर्मा सुवेदी ‘जीरो’-बाटो उठेर सबैका हृदयमा ‘ट्रीरो’-को स्थान बनाउन सफल हाम्रा गौरव हुन्‌, युवाहरूका निम्ति प्रेरनाका श्रोत हुन्‌। नेपाली समाज उनको उत्तरोत्तर प्रगति एवं दीर्घायुको कामना गर्दछ। -अस्तु

 

नोट : हाम्रो समाजको साहित्य, सङ्गीत र कला क्षेत्रमा अग्रणि भूमिका निभआउने हस्तीहरूको परिचय प्रायः पत्र-पत्रिकामा पढ्‌ने गर्छौं। तर 21औं शताब्दीमा उद्योग जगतले विश्वलाई नै आमूल परिवर्तन गरिरहेको अवस्थामा हाम्रो समाजको गोर्खे उद्योगपति र इन्टरप्रेरणाहरू को-कस्ता छन्‌ र समाजमा यिनीहरूको भूमिका के छ यसबारे अबको प्रत्येक अङ्‌कमा यस्ता हस्तीहरूको परिचय दिने योजनामा लेख प्रस्तुत छ। -सम्पादक

अन्य लेखहरू