निरुपण, दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठनको, स्मारिका उत्थानमाथि निरुपणात्मक पर्यवेक्षण

  • 2026-10-25 16:03:14

- कृष्ण प्रधान, सिलगढ़ी

बूढ़ापाकाहरू भन्थे, ‘‘आफ्नू दमाहा आफैले नबजाउनू।’’ तर अचेल समय त्यस्तो छैन। अब ता कि चाहिँ आफूले गरेको कामको इतिहास  आफैले लेख्नुपर्छ कि चाहिँ अरुलाई नै लेख्न लाउनुपर्छ। नत्र हामीले गरेका कामहरू स्मृतिको गर्भमा बिलाएर जानेछन्‌। आउँदा पीँढ़ीहरू यसबारेमा अनभिज्ञ हुनेछन्‌। त्यसपछि क्रमशः हाम्रो इतिहास सदा-सदाको लागि आजीवन ओझेलमा पर्नेछ। आफूले गरेका कामहरूको सम्पूर्ण लेखाजोखा, इतिहास सुरक्षित राख्न दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठनले भगीरथ प्रयासमा  नयाँ वर्ष 2078-को छेक पारेर स्मारिका उत्थान नाउँ दिएर मुखपत्र प्रकाशित गरेको छ। यो मुखपत्र उत्थान एउटा दस्तावेज नै भएको छ। यसभित्र परेका सामग्रीहरू अहिलेलाई केही विद्वानरूका निमित्त सामान्य लाग्ला तर आजभन्दा पचास वर्षपछि यसभित्र परेका सामग्रीहरू इतिहासको रुपमा प्रमाणित हुनेनैछ। नेपाली समाज, भाषा-साहित्य-संस्कृतिको उत्थान-संरक्षण-संवर्द्धनका निमित्त दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठनका संस्थापक सदस्यदेखि लिएर आजसम्मका सदस्यवर्गले कति रगत पसिना फुर्मास गरेका रहेछन्‌ त्यसबेला छतछती प्रमाणित हुनेछ जब सिलगढ़ीमा नेपाली जातिको अस्तित्वको प्रश्न देखापर्नेछ।

संस्कृतको नपुंसकवाची शब्द ‘‘उत्थान’’-को शब्दकोशीय अर्थ हुन्छ, भइरहेको अवस्था वा पदबाट  मास्तिर उक्लने स्थिति वा उन्नति, प्रगति, समृद्धि, पदोन्नति, प्रारम्भ, थाल्नी, उठान, उठ्‌ने वा उभिने काम अग्लो हुने काम, पुरुषार्थ, उद्यम, उद्योग, हर्ष, खुशी।

यस अर्थमा, 41 हिउँद छिचोलिसकेको दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठनले आफ्नो स्थापनाकालदेखि नै नेपाली जातिको उत्थानको निम्ति गरेका कामहरूको नालीबेली यसमा प्रस्तुत गरिएको पाइन्छ। यसबारेमा उत्थानका प्रमुख सम्पादक खेम सापकोटाले आफ्नो सम्पादकीयमा दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठन  जन्मिनुको कारण स्पष्टरुपमा उल्लेख गरेका छन्‌ - ‘‘जबदेखि दुर्गागढ़ीको जन्म भयो तबदेखि यस ठाउँको सङ्गठन भवनको माध्यमबाट सिलगढ़ीमा हाम्रो जातीय संस्कृति, धर्म, कला र खेलकूदको उत्थान भएको छ।

यस उत्थान-मा समाविष्ट सागग्रीहरूले सङ्गठले गरेको जातीय तथा सामाजिक उत्थानका विविध ऐतिहासिक तथ्यहरू समेटेको पाइन्छ। सङ्गठन प्रतिष्ठा गर्नमा आरम्भदेखि नै आफ्नो रगत पसिना फुर्मास गरी सङ्गठनलाई आजको विराट अवस्थामा पुऱ्याउने आजीवन संरक्षक मीमलाल सापकोटाको आरम्भमै दुर्गागढ़ीको जन्म शीर्षकको खोजपूर्ण लेखमा आफू पत्तीकलोनीदेखि बसाइँ सरेर नयाँ ठाउँमा आएर घर बनाएपछि आफू बसेको ठाउँ एउटा सार्वजनिक ठाउँ हुनुपर्छ भन्ने विचार लिएर स्थानीय जमीनदाताबाट जमीन पाएपछि सङ्गठन प्रतिष्ठा भएको तथ्य पाइन्छ। प्रतिवेदक सापकोटा बसेका गाउँको नाम प्रतिवेदक स्वयंले आरम्भमा गाउँलाई शहीद दुर्गा मल्ल टोल नामाकरण गरे पनि भगीरथ लोहारले दुर्गा मल्लबारे जानकारी लिने हुँदा गाउँको नाम शहीद दुर्गामल्ल टोल राख्ने काम थाँतीमा रहेपछि  फुलपाती शोभा यात्रा निकालेपछि गाँउको  नाउँ माता दुर्गाकै नाउँमा सिलगढ़ी नाउँकै अनुरुप दुर्गागढ़ी राख्ने प्रस्ताव राख्दा सर्वसम्मतिक्रमले सो नाउँ दुर्गागढ़ी स्वीकृत भएको कुरा पनि यस प्रतिवेदनमा उल्लेख गरिएको पाइन्छ भने दुर्गा पूजा भव्यरुपमा आयोजन गरेको आधारमै सङगठनको नाम पनि दुर्गा जनकल्याण सङ्गठन राखिएको कुरा पाइन्छ। सङ्गठनले झरी-बतास सहेर पनि दुर्गापूजा र फुलपाती शोभायात्रा आयोजन क्रम जारी रहनुका साथै सङ्गठनको जग्गामा एउटा प्राइमेरी स्कूलको निम्ति पत्तीको कोठा बनाइए तापनि स्कूल सञ्चालन हुन नसकेको कुरा पनि सापकोटाले आफ्नो यस प्रतिवेदनमा जानकारी दिएका छन्‌। यस सङ्गठनको भगीरथ प्रयासमा माइँला बाजेको सालिग निर्माण गरिएको तथ्य पनि सापकोटाको प्रस्तुत प्रतिवेदनमा पाइन्छ।

सङ्गठन  निर्माण गर्नमा आरम्भदेखि नै तन-मन-धनले सघाउ पुऱ्याउने संस्थापक संरक्षक दीनानाथले आफ्नो ऐतिहासिक प्रतिवेदन विगत दुर्गाजन कल्याण सङ्गठनका गतिविधि-मा संगठनलाई आजको अवस्थासम्म बनाएका तथ्य पाइन्छ।

सिलगढ़ीका भूमिपुत्र युवराज काफ्लेले पुरानो सिलगढ़ीको केही नेपाली सङ्घ-संस्थानहरू शीर्षकको प्रतिवेदनमा सिलगढ़़ीमा नेपाली जातिको बसोबासोको ऐतिहासिकतालाई उजागार गरेको पाइन्छ। सन्‌ 1898 देखि सिलगढ़ीमा नेपालीहरूको सङ्‌ख्या धेर रहेको तथ्यलाई पुष्टि गर्दै नेपाली जातीय चेतना र उनीहरूका क्रियाकलाप उठान गर्ने क्रममा सन्‌ 1932 सालमा सिलगढ़ीमा सर्वप्रथम संस्था प्रतिष्ठा भएको तथ्य उल्लेख गरेका छन्‌ अनुसन्धानकर्ता काफ्लेले। त्यसपछि यहाँको शैक्षिक, सांस्कृतिक, साहित्यिक क्रियाकलापको उठान गर्नाका साथै मन्दिर तथा प्राइमरी स्कूल स्थापना गरिएको बारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेर एउटा इतिहास नै राखिदिएको पाइन्छ। प्रस्तुत ठुङमार्दो तथ्यपरक ऐतिहासिक दस्तावेज शायद संगठनको निर्देश बमाजिम सीमित पृष्ठमा लेख्नुपरेको मज्जा आउँदा आउँदै बिस्वाद लाग्छ। आशा छ, प्रतिवेदक काफ्लेले यस प्रतिवेदनलाई विस्तृत रुपमा लेखेर पुस्तकाकार रुपमा प्रकाशित गरे यो पुस्तक इतिहासको रुपमा सुरक्षित भएर रहनेछ।

सिलगढ़ीमा नेपालीहरू सामान्य पोष्टमर्टम शीर्षकको मेरो निजी प्रतिवेदन सङ्गठनका अध्यक्ष अमल खवास र कोषाध्यक्ष वेदनाथ शर्माको निर्देशमा सीमित पृष्ठमै तयार पार्नुपरेकोले विस्तृत रुपमा नभएर बुँदाका रुपमा मात्र प्रस्तुत गरिएको छ। यस तथ्यपरक प्रतिवेदनको विस्तृत रुप सुरक्षित रहेको जानकारी गराउँदछु।

सङ्गठनका संरक्षक सदस्य पं. ध्रुर्वप्रसाद उपाध्यायले उनको दुर्गागढ़ीमा नवग्रह मन्दिर शीर्षकको प्रतिवेदनमा नवग्रह मन्दिरबारे विस्तृत रुपमा प्रस्तुत गर्नाका साथै भक्त समुदायका रोग-कष्ट निवारणबारे पनि भक्तिज्ञान दिएको पाइन्छ। 

सङ्गठनका कार्यकारिणी सदस्य तथा यस उत्थान मुखपत्रका प्रमुख सम्पादक खेम सापकोटाले नेपाली भाषा आन्दोलनमा सिलगढ़ीको योगदान शीर्षकको मिठाइलो प्रतिवेदनमा भाषा आन्दोलनमा सिलगढ़ीका युवाहरूले महत्त्वपूर्ण योगदान पुऱ्याएका तथ्य प्रस्तुत गरेको पाइन्छ।

 सङ्गठनका संरक्षक सदस्य पं शान्ति उपाघ्यायले दुर्गागढ़ी सङ्गठनमा तिजको परम्परा शीर्षकको लेखमा तीजबारे सामान्य जानकारी दिनाका साथै गत चौबिस वर्षदेखि अविराम सङ्गठनको आयोजनमा तिज मानेको तथ्य दिएका छन्‌  भने लेखको अन्त्यतिर तीजको कथा विस्तृत रुपमा व्याख्या गरेका छन्‌ ।

यसै उत्थानका सह-सम्पादक वेदनाथ शर्माले उनको दुर्गागढ़ीमा ढिकुरो शीर्षकको जानकारीमूल प्रतिवेदनमा ढिकुरो स्थापना गरिएको यस प्रतिवेदनमा छोटो रुपमै भए पनि ढिकुरोको मह्त्वबारे जानकारी दिएको पाइन्छ। गाउँ-बस्तीतिर ढिकुरोबारे जानकारी भए पनि शहर-बजारकाहरू ढिकुरो स्थापना गरिएको कुरामा कि चाहिँ मरिमरि हाँस्छन्‌ कि चाहिँ खिसी गर्छन्‌। भारतीय नेपाली साहित्यमा ढिकुरोमाथि लेखिएको प्रस्तुत प्रतिवेदन सम्भवतः पहिलो हुनुपर्छ। यसै सन्दर्भमा भन्नुपर्दा, दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठनले मात्र नेपाली जातीय संस्कृति र परम्परालाई जोगाएर राखेको छ। यसैकारण यो दुर्गागढ़ीलाई सिलगढ़ी नेपाली समाजको नेपाली सांस्कृतिक राजधानीको पगरी गुँथाउँदा नाकनिक गर्ने र कसैको नाक नखुम्चिनु पर्ने हो।  

सङ्गठनका संरक्षक सदस्य चन्द्र बहादुर छेत्रीले सम्झामा रहेका केही पुराना कुराहरूमा सङ्गठना पुराना कुरा गरेर सम्झना आलो बनाउनुमा छिनु र मार्तोलको काम गरेका छन्‌।

कमल राई (खोका)ले सङ्क्षिप्त रुपमै भए पनि पहिले दुर्गागढ़ीको 30 बिघा जमीन उनीहरूको निजी जमीन भएको र त्यहाँ उनका पिताले खेती गर्थे भन्ने कुराको जानकारी दिएका छन्‌। जमीन भेष्ट ल्याण्ड भएकोले त्यसलाई धेरैले हत्याउने चेष्टा गरेको सुइँको पाएर उनका पिताले सन्‌ 1980 को आरम्भमै ती जमीन नेपाली दाज्यू-भाइहरूलाई बेच्नाका साथै प्रतिवेदकका बाजे बी. बी चामलिङको स्मृतिमा प्राइमरी स्कूल स्थापित गरी जगत छेत्रीलाई शिक्षक रुपमा मनोनित गरे पनि विद्यार्थीहरूको अभावमा स्कूल बन्द गरी त्यस ठाउँमा आरम्भमा घर भाँड़ामा दिए पनि अन्त्यमा बन्द भएको स्कूलको त्यो जमीन आजको सङ्गठनलाई अनुदानस्वरुप दिएको तथ्य दिएका छन्‌ कमल राईले।

सङ्गठनका अध्यक्ष एवम्‌ रतनलाल ब्राह्मण सालिग निर्माण एवम्‌ संरक्षण समितिा सचिव अमल कुमार खवासले रतनलाल ब्राह्मण सालिग निर्माणका एक दुई कुरो  शीर्षकको प्रतिवेदनमा सालिग निर्माण गर्दाको विस्तृत नालीबेली प्रस्तुत गरेका पाइन्छ।

मुखपत्र उत्थान-मा सम्पूर्ण सङ्गठनका संरक्षकगण, सल्लाहाकार र सम्पूर्ण कार्यकारिणीका फोटा लगायत सूची पनि राखिएको पाइन्छ। यसका साथै सङ्गठनले आयोजन गरेका विभिन्न क्रियाकलापहरूको पेपर कटिङ्‌ग्स (विभिन्न पत्र-पत्रिका प्रकाशित) समेत राखेर साङ्‌केतिक रुपमा सङ्गठनको गतिविघि देखाउने जमर्को गरिएको देखिन्छ।                                                                                          

अन्तिमतिर दुर्गापूजा, वलिदान दिवस, तीज पर्व एवम्‌ सङ्गठनका सांस्कृतिक अनि सामाजिक कार्यक्रम, सालिग निर्माण, खेलकूद तथा निःशुल्क स्वास्थ्य शिविरमा खिँचिएका रङ्गीन फोटाहरू पनि राखिएको पाइन्छ। सङ्गठनले आफ्नो स्थापनाकालदेखि गरेका गतिविधिहरूका साक्षात्‌ साक्षी नै यी फोटाहरू हुन्‌। किनभने पत्रकारिताको भाषामा भनिन्छ - फोटो आफै बोल्छ। यसबारेमा हेनतेन बखानिरहनु पर्दैन। यस उत्थान-को आरम्भका पृष्ठहरूमा सङ्गठनका भूमिदाता तिलक बहादुर राई, सङ्गठनका शुभेच्छुक पूर्व पञ्चायत खड़ग प्रसाद शर्मा अनि ढिकुरोको जमीनदाता पदम बहादुर छेत्रीका स्मृतिस्वरुप फोटाहरू राखेर उनीहरूलाई श्रद्धाञ्जली चढ़ाइएको पनि देखिन्छ।

आवरण बान्किलो छ। आवरणमा दिइएका फोटाहरूले यस ठाउँमा संस्कृतिको पूजा हुँदोरहेछ भन्ने छतछती बुझिन्छ।

स्मारिका भन्नु नै स्मरण नटुटोस्‌ भनी तयार पारिएको  पुस्तिका वा वस्तुविशेष हो। सङ्गठनको मुखपत्र उत्थान साँच्चै नै स्मारिका नै भएको छ। यसभित्रका जानकारीमूलक तथा अनुसन्धनात्मक सामग्रीले विद्वान समाजमा कदर नपाउलान्‌ तर यो ता विद्वानहरूका निमित्त तयार पारिएको पुस्तिका हुँदै होइन। सिलगढ़ीसम्बन्धमा वा दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठनबारेमा निधिखोजी गर्नेहरू लगायत इतिहास जान्न खोज्ने इतिहास पिपासाहरूका निमित्त तयार पारिएको स्मारिका हो।

उत्थान खोजपूर्ण भएको छ । तर ठाउँ-ठाउँमा व्याकरण विचलनका साथै शब्द एकरुपतामा अमिल देखिएका छन्‌। निकट भविष्यमा ती सच्याउलान्‌ भन्ने आशा र विश्वास छ।

स्मारिकाको नाम उत्थान

प्रकाशक दुर्गागढ़ी दुर्गा जनकल्याण सङ्गठन

(2078 नेपाली नयाँ पहिलो वैशाखको शुभोलक्ष्यमा प्रकाशित)

सम्पादक खेम सापकोटा

सह-सम्पादक सुवास छेत्री, वेदनाथ शर्मा, शङ्‌कर छेत्री

व्यवस्थापक / प्रकाशक अमल कुमार खवास, अध्यक्ष दुर्गागढ़ी दुर्गा जनलकल्याण सङ्गठन, सिलगढ़ी

आवरण सज्जा राजेश छेत्री

अक्षर सज्जा कमल खवास

टङ्‌कन भीम शर्मा

मुद्रण ग्राफिक प्रिण्टर्स, दुर्गागढ़ी, सिलगढ़ी ।

पृष्ठ सङ्‌ख्या 69 + 4 = 73

 

अन्य लेखहरू