नशालु पदार्थ : एक षड़यन्त्र चिन्ता अनि चर्चा ...

  • 2026-10-18 21:04:09

शुशिल प्रधान

वर्तमानमा हाम्रो पहाड़, तराई, डुवर्सभित्र कोरोनाको साथ-साथमा अझै एउटा भयानक भाइरसले आतंक मच्चाइरहेको छ। यो भाइरसले विशेष गरेर युवा, युवा भन्दा पनि अवयश्क (ढशशपरसशी) केटाहरूलाई चपेटामा लिइरहेको छ। भन्नै हो भने प्राय: सखाप नै पारिसकेको छ। त्यो भाइरसको नाम हो नशालु पदार्थ ड्रग्स (इड चल्ती भाषामा)।

भर्खरै मिरिकबाट भुक्तभोगी ( भिक्टिम) हुनपुगेको भाईले एउटा भिडियो पोस्ट गरेर समाजलाई आँखा उघारि हेर्ने, नयाँ भाईहरू बर्बाद भइसकेको छ भनेर सन्देश दिन चाहेको छ। पुलिस प्रशासनको भूमिकामाथि पनि उसले प्रश्न तेऱ्साएको छ। जुन भिडियोले मिरिक भेकमा निकै रडाको मच्चाइरहेको छ। उसले यथार्थ पस्केको छ।  हो सत्य नै हो पुलिस प्रशासनको भूमिका एकदमै सन्देहजनक छ यो विषयमा। 

गाउँ-समाजको सबै मानिसहरू मिलेर उजुरी (कम्प्लेन) गर्दा पनि पुलिसले कुनै ठोस कदम नउठाएको हामीले प्रत्येक्ष देखिरहेका छौं। भर्खरै बाघडुग्रा स्थित सूर्यनगर (टाइगर बस्ती)-मा घटेको घटना फेसबुक मार्फत सबैले हेरेकै होला।  सम्पूर्ण गाउँवासी मिलेर थाना घेराउ गरि ड्र्‌ग बिक्रेता, जसलाई ड्रग पेडलर भनिन्छ। घर सबै देखाउँदा पनि पुलिस पुग्दैन। वाक्क भएर गाउँवासीले नै ती बिक्रेताहरुको घर तोड़फोड़ गर्दा तुरुन्तै पुलिस त्यहाँ पुग्दछ। पहिले त गाउँवासीमाथि नै जाइलाग्ला जस्तो गर्छ तर गाउँवासीको एकता देखेर उनिहरू पछि पर्छ अनि ती बिक्रेताहरूलाई पक्रिन्छ, ड्रग बिक्रेता भनेर होइन तर गाँजा बिक्रेता भनेर। त्यो भन्दा अघि पनि अझै एउटा गाउँवासीले पनि उजुरी गरेका थिए। तर पुलिसले उसलाई पक्रेको जस्तो गरेर फेरि छोड़िदिएको थियो। यस्ता घटनाहरू तराई सिलगढ़ी, मतिगड़ा, बाघडुग्रा, नक्सल आदि क्षेत्रमा लगातार घटिरहेको छ। मानिसहरू दोषीलाई पक्राउ गर्छन्‌ अनि प्रशासनलाई सुम्पने गर्छन्‌ तर फाइदा केही हुँदैन।

बाघडुग्राका शिक्षित अनि समाजप्रति जागरुक जमातले नारा-जुलूस गरे, प्रशासनलाई अर्जिपत्र चढ़ाए, प्रशासनबाट आश्वासन पाए तर अरू केही पाएन। आज पनि इड बिक्री भइरहेका छन्‌, स-साना नानीहरू आज जो यो बिना बाँच्नै नसक्ने भइसकेका छन्‌ उनिहरू जहाँबाट भए पनि पैसा ल्याएर त्यो भाइरस सेवन गरिरहेका छन्‌। पैसा कति? मात्र रुपियाँ 200/- एक डोज। यो 200/- पाउन हिजोआज घरमा चोरी, बजारमा चोरी, रातमा दोकानमा चोरी, कुखुरा-बाख्रा चोरी जस्ता घटनाहरू लगातार घटिरहेको छ। यो भाइरसले लगभग 80% घरहरू आफ्नो चपेटामा लिइसकेको छ। ज-जसको घरमा युवाहरू छन्‌, विशेष गरेर 13 देखि 20 वर्षका केटाहरू सबै सतर्क भएर आफ्नो नानीहरूलाई याद गरेको राम्रो। यस्ता घरहरूमा विगत केही समयदेखि सर-समान, रुपियाँ-पैसा, गर-गहनाहरू हराउने घटनाहरू त भएको छैन ख्याल राख्नुहोस्‌। आज लकडाउनले गर्दा स्कुल बन्द, नानीहरू पढ्‌न त टाढ़ोेको कुरो राम्ररी खेल्न पाएको छैन। त्यसैले उसको दिमाग खाली छ। खाली दिमाग शैतानको घर। त्यसैले ख्याल राख्नुहोस्‌ आफ्नो नानीहरू के गर्दैछन्‌, कता जाँदैछन्‌। उसको आनि-बानीमा त केही फरक आएको छैन। उसको आँखाहरू घरि-घरि रातो त भएको छैन, मध्यराततिर कतै भुँड़ी दुख्यो भनेर अत्तलाको त छैन। ख्याल राख्नुहोस्‌ एकदमै ध्यान दिनु होस्‌ ।

आफ्नो नानीहरूको पछि आफै पर्ने समय आएको छ। कारण बाहिरको वातावरण सठिक छैन। अनि वातावरण बिगार्नेहरूमाथि प्रशासनले कार्यवाही गर्नु मानेको छैन। मनेको छैन अथवा कार्वाही गर्नु दिएको छैन। यो एउटा गतिलो प्रश्न? कतै यो ठूलो षड़्यन्त्र त भइरहेको छैन? प्रशासनको ढिलाइ र लचिलोपन देख्दा शंका उत्पन्न भइरहेको छ।  2030-40 को दशकमा समाज सञ्चालन गर्ने नयाँ वंशजहरू माथि यो भाइरसले आक्रमण गरेको छ। यहाँ षड़्यन्त्र हुँदैछ जस्तो लाग्दैछ। षड़्यन्त्र भविश्य तुहाउने, षड़्यन्त्र सम्पूर्ण जाती- समाज बिगार्ने, षड़्यन्त्र आगामी आवाजहरू दबाउने। इतिहासमा राजसत्ता विरुद्ध आवाजहरू दबाउन अथवा जनताको मांगहरू दबाउन अथवा भूलाउन यस्ता षड़्यन्त्रहरु हुने गर्दथे। वर्तमानमा पनि कतै यस्तै त भएको छैन? जागरुक समाजले विचारनु पर्छ। कारण, यो भाइरसले विषेश गरेर हाम्रो पहाड़ तराई, डुवर्स क्षेत्रभित्र नै आक्रमण गरेको देखिन्दैछ।

यो भाइरसको आक्रमण हिजोआज शुरू भएको होइन। यो घटनाक्रम प्रायः 4-5 वर्ष अघि नै शुरू भएको भान हुँदैछ। सबैले आफ्नो मस्तिष्कमा जोड़ दिँउ र विचारौं, प्रायः विद्यालयतिर नानीहरू नशाको हालतमा भेटिएको, गोजि, झोला जाँच गर्दा मादक पदार्थहरू भेटिएको आदि जस्तो घटनाहरू धेरै अघिदेखि शुरू भएको जस्तो लाग्छ। विद्यालयबाट अभिभावकहरूलाई बोलाइएको, नानीहरूलाई निकालिएको जस्तो घटनाहरू पनि भएको जस्तो लाग्दैछ। ठोकेर भन्न सक्दिनँ तर यस्तै घटनाहरू घटेकै जस्तो लाग्दैछ विगतमा। जो आज विकराल रूप लिएर गएको छ। धेरै अभिभावकहरूलाई थाह पनि छ कि मेरा नानी कूलततिर लागेको छ भनेर। धेरैले ढाकछोप नै गर्दैछन्‌ भने धेरैले रिहापतिर हाल्ने कदम पनि उठाइरहेको छ, त कति हार खाएर हात उठाइसकेका छन्‌।

अब के गर्ने त? यदि यो भाइरसबाट नानीहरूलाई बचाउने हो भने अथवा यो षड़्यन्त्रबाट समाजलाई जोगाउन हो भने पहिले त सबै माता-पिताहरूले आँखा उघार्नु पऱ्यो अनि त्यसपछि समाजले काम थाल्नु पऱ्यो। आजभोलि समाजले सिधै काम गरिहाल्नु मिल्दैन कारण वर्तमान अभिभावकहरू पहिलेको जस्तो छैनन्‌। पहिले त हामीले गल्ती गरे अथवा कूलततिर लागे पल्लो घरको काका, तल्लो घरको मामा वा माथिल्लो घरको बड़ा अनि तलतिरको बाजेहरूले पनि थप्पड़ लाउथे अनि आमा-बाबाले नानीहरूको नाक नथापेर उल्टै थप्थे। तसर्थ, नानीहरूमा गाउँ-समाजको डर हुन्थ्यो। तर हिजोआज यस्तो हुँदैन। वर्तमानमा त विद्यालयमा गुरुबा-गुरुमाले जोड़ले हकारे भनेपनि अभिभावकहरू विद्यालय पुगेर लड्‌ने गर्छन्‌, गाउँका काका-काकीले थप्पड़ लाए भने झन्‌ महाभारत नै हुने गर्छ। तसर्थ, नानीहरूलाई अलिकति सम्झाउँदा पनि तेरो बाउको खाको छु, जस्तो जवाफहरू सुन्न पाइन्छ। त्यसैले, पहिले नानीहरूको अभिभावकले समाजलाई गुहार माग्न पऱ्यो।

यदि अभिभावकगण समाज अघि आएर काम गरेको हेर्न चाहे गाउँ-समाज हरकतमा आउनु पऱ्यो। हामी मानिस हौं, सामाजिक प्राणी हौ, जहाँ बस्छौं त्यहाँ आफ्नो सुविधाको निम्ति समाज निर्माण गर्ने काम गरेको हुन्छौं। त्यसैले हाल शहर-बजार, कमान-बस्ती सबैतिर समाज-संस्था पाउँछौं हामी अनि वर्तमानमा यसको काम बिहे र मरौंसम्म मात्रै सिमित रहेको छ। तर समाज-संस्थाले धेरै कामहरू गर्न सक्छ। पहिले-पहिले हुने गर्थ्यो। खेलकुद, गित-संगीत, साफ-सफाई, पूजाआज, सम्मान-सम्बर्द्धना जस्तो कार्यक्रमहरू भइरहन्थे। जसले गर्दा नानीहरू कूलततिर लाग्दैन थिए अथवा कमै लाग्द थिए। गाउँ-घरतिर पुलिस जान पर्दैन थियो। ठूला-ठूला समस्याहरू समाज बसेर नै मिलाउने गर्दथे। तर आज सबै हराएको छ। सबै आ-आफ्नो धुनमा मस्त। गाउँ - घरको दोकानतिर रम-रक्सीहरू ढुक्कले बिक्री गर्न पाइन्छ आज। अनि ठूलाबड़ाको ख्यालै नराखी केटाकेटीहरू बाटो- बाटो नै ढुक्कले पार्टी गरिरहेको देखिन्छ। साक्षरता धेरै गुणा बढ़ेर गएको छ तर ज्ञान-बुद्धि भने शून्य। 

त्यसैले हाम्रो भावी सन्तानहरू जोगाउने हो भने समाज-संस्था फेरि सक्रिय हुने बेला आएको छ। यो समस्यालाई मेरो घरको मात्रै नसोंचेर समाजको समस्या सोंचेर अभिभावकगणले पनि समाजलाई जिम्मेवारी दिनु सक्नुपर्छ अनि समाजको कुरो मान्नु पर्छ। यहाँ म समाज-संस्था भन्दा त्यो ठूलो-ठूलो टाउको भएको थुप्रै गाउँ-घर मिलेर बनेको समाज-संस्थाको कुरा गरेको होइन। प्रत्येक गाउँभित्रको स-सानो समाजको कुरा गरेको। ठूलो ठूलो टाउको भएको संस्थाहरू त देखावटी मात्रै हो, भाषण छोड्‌नु मात्रै हो। आफ्नो गाउँ र गाउँका नानीहरूको जिम्मा आफै लिएको राम्रो। काम गर्नु अनि नराम्रो कुरोमा लगाम लाउनु पनि सजिलो। भोलि जोगाउनु हो भने आज नै प्रत्येक गाउँ समाज बौंरेर उठौं अनि सर-सल्लाह गरेर कामतिर लागौं। गाउँतिर कसले यस्ता नशालु पदार्थहरू बिक्री गर्दैछन खोजी निकालौं अनि प्रशासनलाई सुम्पौं। यदि प्रशासनले कुनै ठोस कदम नचाले समाजले नै त्यसको टुंगो लगाएको राम्रो। अब ढिलो गरे धेरै ढिलो हुनेछ अनि प्रत्येक घर पतनतिर जानेछ। षड़्यन्त्र सफल हुन नदिउ।

पुलिस प्रशासनसित पनि विनम्र निवेदन झट्ट भन्दा झट्ट यो दिशामा कदम उठाउन। यदि यो षड़्यन्त्र होइन भने, शंका गलत हो भने प्रशासन हरकतमा आएर देखाउन। पुलिसले चाहे यस्ता कुकृत्यहरू पलभरमा समाप्त भएर जाने छ। तर यहाँ त प्रशासनको भूमिका नै सन्देह जनक देखिँदैछ। सम्पूर्ण जनसाधारणले उजुरी लाउदा, यहि व्यक्ति हो बिक्रेता भनेर चिनाउदा पनि हरकतमा आउदैन। के रहस्य हो हो।

राज्य सरकार लगायत सबै राजनैतिक दल अनि स्थानीय विधायकगण साथै सांसदगण सबैलाई विशेष ध्यानाकर्षण गराउन चहान्छु यो समस्यातिर। अनि निवेदन गर्न चहान्छु केही ठोस पहल होस भनि। यो भाइरस बिक्रेता गिरोहलाई समाती षड़्यन्त्रको पर्दाफास होस चाँड़ै।

अन्य लेखहरू