सम्पादकीय

 

भारतको असम राज्यमा एन.आर.सी लागु भएको परिणामपछि बंगाल लगायत दार्जीलिङमा पनि निकै खुल्दुली मच्चाएको छ। ‘नेशल रेजिस्ट्रेशन सर्टिफिकेट’ भनेको भारतको मूल रैथाने वा भनौ प्रथम श्रेणीको नागरिक हो। यस दृष्टिले हेर्दा जति पनि हिन्दुहरू छन्‌ ती स्वतः एन.आर.सी. भित्र परिहाल्छन्‌। किनभने हिन्दुहरूको अरू कुनै राष्ट्र छैन, नेपाल छोड़ेर। तर यहाँ भारतभित्रै अन्य धर्मलाई अँगाल्ने पुराना नागरिकहरू पनि भारतको प्रथम नागरिक अन्तर्गत नै पर्दछ। अब गोर्खाहरूको प्रश्न आउँदा हामी सबैभन्दा बलियो पक्षमा छौं। किनभने आसामको स्थिति बेग्लै छ तरै पनि 1850को भारत नेपालको सन्धिले भारतको कुनै पनि क्षेत्रमा बसोबासो गर्ने अधिकार नेपाली नागरिकहरूलाई छ। तर हामी भारतीय गोर्खा हौं जो अंग्रेजको सरकारभन्दा पहिल्यै यी हिमाली र तराई क्षेत्रहरूमा हाम्रो बसोबासोको इतिहास छ। त्यही बसोबासो गरिआएका पूर्खाहरूका सन्तान आज हामी हौं। यसैले हामी यस देशको ट्राइबल जाति हौं। जसमाथि एन.आर.सी. नै लागु हुन सक्दैन।

अब बंगालमा गोर्खाहरूको प्रश्न आउँदा हामी सबै दार्जीलिङ पहाड़ी क्षेत्र र तराईमूलका रैथाने हौं। यसैले हाम्रो इतिहास हेर्ने हो भने हामी माटोसँगै भारतमा गाभिएका हौ। यसैले हामी कसैलाई पनि एन.आर.सी. बाट छुट्याइएको खण्डमा हाम्रो भूभाग हामीलाई फर्काउ भनेर विश्व अदालत हेगमा मुद्दा हालेको खण्डमा भारत सरकारलाई अप्ठ्यारो पर्न सक्छ। यसैले प्रधानमन्त्रीदेखि सबै केन्द्रिय नेताहरूले गोर्खाहरू ढुक्क बस्दा हुन्छ भनिरहेका छन्‌। तर यहाँ कतिपय बंगालका नेता र बंगाल पन्थी नेताहरूले मुस्लिम बंगाली समाजलाई बचाउनका निम्ति गोर्खाहरूको काँधमा बन्दुक हाल्ने काम गरिरहेका छन्‌। जो राजनैतिक स्वार्थप्रेरित छ। यसैले राजनैतिक ख्याललाई बुझेर आफ्नो कागज अहिलेदेखि नै ठीक-ठाक राखेर बसे कसै वा कुनै शक्तिले पनि गोर्खामाथि आँच आउन दिनेछैन।