सम्पादकीय

 

दार्जीलिङमा राजनैतिक द्वन्द्वको परिणाम स्वरूप जहिले पनि यस क्षेत्रको सांसदले अपमान बोध गर्न परिरहेको छ। इतिहास साक्षी छ इन्द्रजीत खुल्लर, जसवन्त सिंह, एस.एस.अहलुवालिया अहिले आएर राजु विष्टले कालेबुङ भ्रमणअवधी अपमान सहनु पऱ्यो। दार्जीलिङको आन्दोलनमा केन्द्र जहिले पनि सहानुभूतिपूर्ण रबैयामा रहेको हुन्छ भने राज्यको कठोर दमन निती अनि  केन्द्रलाई दार्जीलिङको विषयमा हस्तक्षेपमा बाधा दिनु रहेको हुन्छ, यसैले दार्जीलिङमाथि केन्द्रले कहिल्यै सोझै हस्तक्षेप गर्न सकेको छैन। तर दार्जीलिङ सधैँ आन्दोलित नै छ।
बंगालमा एन.आर.सी.को मुद्दामाथि बहस हुँदा तृणमूल नेत्री पल्लवी दासले सोझै गोर्खाहरू घुसपैठी हो, किन बिजेपीले गोर्खाल्याण्डको निम्ति अघि बढ़िरहेको छ भन्ने मिडिया समक्ष कठोर प्रश्न राख्दा, त्यसकै लगत्तै भोलीपल्ट तृणमूलका नेत्रीलाई स्वागत अनि दार्जीलिङका स्थायी समाधान तर्फ लागेका गोर्खे सांसद राजु विष्टमाथि ढुङ्गा-मुड़ा हानेर अपमान गर्नु यो हामी दार्जीलिङकाहरूले केन्द्रलाई के संकेत दिएका हौं, हामी आफै बुझौं।
तर यो त एउटा ड्रामा हो भन्ने संकेत धेरैले बुझेका छन्‌। स्वयं राजु विष्ट लगायत केन्द्र सरकारले पनि बुझेको छ। केही राजनैतिक स्वार्थी व्यक्तिहरूले पुलिसको आड़मा यो कर्तुत गरेको कुरो यस भेगका 90 प्रतिशत जनताहरू भन्ने गर्दछन्‌। यहीँबाट अनुमान लगाउन सकिन्छ कि दार्जीलिङमा गणतन्त्रको हरण अनि दमननितीको चरम अवस्था छ भन्ने कुरो। तर जनताको भावना र विचार के छ त्यो त राज्य र केन्द्र दुवैले बुझेको छ। यसैले राज्यले दार्जीलिङमाथि शासन गर्ने पोलेसीमा परिवर्तन गरे पनि ‘चुँड़िएको धागो जोड्‌दा गाँठो’ परे झैं यहाँको मानसिकतामा बंगालदेखि अलग हुने गाँठो सधैँ नै छ त्यसैले आन्दोलित दार्जीलिङमा अहिले जनता पगला कुकुरझैं आफ्नै शुभेक्षुलाई पनि चिन्न छोड़ेर टोक्न गइरहेको छ भने भोली अझ पागल भए पागल बनाउनेहरूको कुन अवस्था हुनसक्छ त्यो सबैले बुझ्न पर्ने आवश्यकता छ।