सम्पादकीय

 

यो 2020 समग्र विश्वकै लागि एउटा चुनौतीपूर्ण वर्षका रूपमा देखा पऱ्यो। सबैभन्दा ठूलो भयावह स्थिति ‘कोरोना भाइरस’-ले पैदा गऱ्यो। यसको रोकथामको प्रयास विश्वभरि नै चलिरहेको भए पनि अझै यसको निदान भेटिएको छैन। यो फैलिंदै नै गइरहेको छ र सबैलाई यसले सन्त्रासमा पारेको छ। अलग्गिएर अनि जोगिएर हिँड्‌नु-बस्नु-खानुदेखि उता अरू कुनै विकल्प हात लागेको छैन। 

पश्चिमोत्तर भारतमा सलहले धेरै कृषकहरूको खेतीपाती नष्ट गऱ्यो। अझै पनि ती सलहको प्रकोप त्यहाँ बीच-बीचमा भइरहेको छ। यी सलह जातिका फट्यांग्रा करोड़ौंका संख्यामा हुन्छन्‌ र समूहमै यिनले खेतीमा आक्रमण गर्छन्‌। एकचोटि खेतीमा खनिए पछि तिनले त्यो खेती चौपट पारेरै छाड़छन्‌। यो सलह धपाउने, मास्ने दवाई कतै निस्किएकै छैन। यो समस्या र महामारी पनि देशले बेहोर्नु परेको छ। 

कोरोनासँग पौंठेजोरी खेल्दा खेल्दै बर्खा लाग्यो। भारतका धेरै शहर र गाउँहरू बाढ़ीको पानीले छताछुल्ल भए। यो बाढ़ीको धेर प्रभाव बिहार र आसाममा पऱ्यो। धेरै ठाउँ र त्यहाँका बाटा-घाटा जलमग्न भए। बर्खे खेतीलाई पानीले डुबायो। मानिसका घरहरू पानीले डुबाएपछि उनीहरू जताततै आश्रय लिन बाध्य भए। प्रत्येक वर्ष भारतमा धेरै ठाउँमा हुने यो महामारीको रोकथाम पनि आजसम्म कसैले गर्नसकेको छैन। अरू त अरू मुम्बई जस्तो शहरको एउटा भाग वर्षेनी पानीमा डुब्‌छ यसपाली पनि डुब्यो। 

राजस्थानमा राजनीतिको बाघचाल चल्यो। 2021 मा हुने राज्यका चुनाउहरूको चलखेल पनि भित्रभित्रै शुरू भइसकेको छ। साधारण मानिस लकडाउनका मर्कामा छन्‌। कोरोनाको महामारी यति चाँड़ै निमिट्यान्न हुने आस नगर्दै हुन्छ। 

जनसंख्या बड़ेको बड्यै छ,यसको रोकथामका लागि भाषणहरू त खूब हुन्छन्‌, तर यसको रोकथामको कुनै ठोस

कार्य भने अझै भएको छैन। भारत स्वाधीन हुँदा यहाँको जनसंख्या 33 करोड़ थियो, अहिले 133 करोड़ पुगिसक्यो। भूमिको क्षेत्रफल घट्‌दैछ, मानिस बड्‌दैछन्‌, यो समस्याको स्थायी समाधान अझै भएको छैन। 

विस्तारवादी चीनले बीच बीचमा निहुँ खोजि नै रहेको छ। पाकिस्तानले सीजफायर नाघेको नाघ्यै छ। यो समस्यामा पनि देश मुछिएको छ। 

विद्यार्थीहरू मर्कामा परेका छन्‌, उनीहरूको पढ़ाई अन्‌लाइन भए पनि त्यो त्यति सुचारू रूपले अहिले पनि चल्न सकेको छैन। सबै ठाउँ चौबीसै घण्टा भने जस्तो बिजुलीको सुविधा छैन। कहिले नेट हुँदैन, मोबाइल फोनमा पनि कहिले टावर हुँदैन। 

यो लेख पाठकले पढ्‌न पाउञ्जेलसम्ममा भारतमा कोरोनाको संक्रमण-संख्या शायद 15 लाख पुगिसकेको हुनेछ। दार्जीलिङ जिल्लाभरि पनि यो फैलिएर गइ नै रहेको छ। बीच बीचमा यो ‘लकडाउन’ को  स्थितिलाई पनि हामीले बेहोर्नु परेको छ। वाध्यतामै सही, हामी अब यसैमा ढल्नु छ। जहिलेसम्म यसको निदान हुँदैन, यसरी नै डटेर हामी चल्नु छ।