संसारमा शायद मानव प्रजातिको जीवन नै यस्तो जीव हो, जो सधैं नै समस्याले घेरिएको हुन्छ, जेलिएको हुन्छ। यिनै समस्याहरूको समाधान खोज्दा खोज्दै उसको आधा जीवनको मियाद बिख्रिसकेको हुन्छ। एउटा समस्याको समाधान हुँदा हुँदै अर्को समस्या फेरि मुख आईपर्छ, यसरी समयले फट्को मार्दै मार्दै जान्छ र यस्ता समस्याहरू व्यक्तिले, परिवारले, समाजले मात्र होइन, राष्ट्रले नै बेहोर्नु पर्ने हुन्छ।
हामीले कहिले सुन्दै नसुनेको, देख्दै नदेखेको र जान्दै नजानेको ‘कोरोना भाइरस’ नाउँको एउटा महामारीले विश्वलाई नै प्रभाव पाऱ्यो। सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनैतिक यी जम्मैको समीकरणलाई यसले बिथोलेरै छाड्यो। शिक्षाको क्षेत्रलाई त यसले चौपट नै पाऱ्यो र ती भविष्यका कर्णधारहरूको भविष्यमाथि नै प्रश्न चिन्ह ठड्याइ दियो। हामीले जस्तो सोचेका थियौं, त्यो भन्दा अझ दोबर गतिमा यो महामारी फैलियो। शुरू शुरूमा मानिस यो देखि जति डराएका थिए र जति सतर्क भएका थिए, अहिले त्यति हुन छोड़े। साँच्चै भन्नु हो भने यसलाई टेर्नै छोड़े। यसले गर्दा यो महामारीले फैलिने सजिलो मौैका पायो। यो डरलाग्दो समस्या पनि देशले, राष्ट्रले, विश्वले बेहोर्नु परेको छ। भारतमै यो महामारीले संक्रमित हुनेहरूको संख्याले 50 लाख नाघि सक्यो। यस्तै हो भने चाँड़ै नै यो महामारीले करोड़को खुट्किलो नाघ्न सक्छ।
यो अचम्मको, भेउ पाइ नसक्नु महामारीसँग पौंठेजोरी खेल्दा खेल्दै कतिपय प्राकृतिक महामारीको समस्याले पनि देशलाई गाँज्यो। यसको रोकथाम कहिले सम्ममा हुने हो त्यसको कुनै अतोपतोे छैन।
अब बिस्तारो बिस्तारो चाड़-बाड़ आउँदैछन्। ती चाड़-बाड़हरू पनि भारतवासीले मनाउने नै छन्। तर त्यतिखेर अनुशासन भन्ने प्रक्रियामाथि नै सबै निर्भर रहेको देखिन्छ। देशको आर्थिक अवस्था खच्किंदै गएको छ, यसबाट पनि पार पाउनु छ।
अन्तमा भन्नुपर्दा यी समस्याहरूबाट पार पाउनु हो भने हामीले केही न केही उपाय त गर्नु नै छ। किनभने ‘घोड़े- बन्सो काट्न पनि धारिलै हतियार चाहिन्छ’ भन्ने आहान धानेर हिँड्नु हो भने यी समस्याहरूको निश्चय निदान होला नै।
