2020 लाई त हामीले कोरोना महामारीलाई नै समर्पित गऱ्यौं र जसोतसो त्यो वर्ष कटायौं। अब यो 2021 हाम्रा लागि एउटा परीक्षाको घड़ी साबित हुनेछ भन्ने लच्छिन देखिँदैन। यस वर्ष बङ्गाल विधानसभाको चुनाउ हुनेछ र यसै वर्ष, प्रत्येक दश वर्षको जनगणना पनि हुने नै छ।
जहाँसम्म विधानसभाको प्रश्न छ, यसमा यसपाली मुख्यरूपमा बीजेपी र तृणमूल बीच नै घम्सा घम्सी चल्ने छ भन्ने स्पष्ट भइसकेको छ र सत्ताशीन तृणमूल पार्टीलाई आफ्नो वर्चस्व कायम राख्न निकै चर्को पर्छ होला भन्ने छाँट देखिँदैछ। बीजेपीले आफ्नो प्रभाव धेरै विस्तार गरिसकेको छ। बीजेपीमा जति छन् छँदैछन्, ती हल्लिने कुरो आएन तर तृणमूलका दिग्गज नेतादेखि लिएर अरू तल्लो तहका कार्यकर्ताहरू पनि बीजेपीतिर हानिंदैछन् र यसले सत्तामा रहेको तृणमूल सरकारलाई आच्छु आच्छु पर्छ भन्ने देखिँदैछ। जे नै होस्, परिणाम पछि कुन कोल्टे फर्किएर बस्ला भन्ने शङ्काको समाधान त चुनाउ परिणामपछि हुने नै छ।
दार्जीिलिङ, तराई, डुवर्सका हाम्रा मानिसहरूले कस्तो भूमिका लिनेछन् भन्ने कुरो पनि यहाँ लुकेको छ। यता समतलका हाम्रा मानिसहरूले एउटा अड़ान लिएर आफ्नो मत देलान् तर पहाड़ र डुवर्सको स्थिति भित्रभित्रै धङ्धङिएको देखिन्छ। किनभने त्यहाँ कतिपय नेताहरूले जनतामा अन्योलताको सिर्जना गरिरहेका छन्। यसको प्रश्न र शङ्काको समाधान पनि चुनाउ परिणामले गर्ने नै छ।
यसै वर्ष सम्पूर्ण भारतमा जनगणना हुनेछ। यसले जातीय समीकरणलाई छर्लङ्ग पार्छ। जातिको आधार नै भाषा र संस्कृति हो। यसमा पनि भाषा सर्वोपरि हो। जनगणनामा भाषाको ठूलो महत्व र आवश्यकता रहेको हुन्छ र यसैमा हाम्रो अस्तित्वको मोहर छिपेको हुन्छ।
2011 मा जनगणना भयो। बङ्गालमा तृणमूल सत्तामा आएको पनि 2011 मै हो। तृणमूल सत्तामा आएपछि दार्जीलिङ, डुवर्स, तराईमा के के भयो, त्यसको उल्लेख यहाँ गरिरहनु परेन। तर मुख्य कुरो, यसै अवधिमा पहाड़मा भाषा, साहित्य (होस् नहोस्), संस्कृति र धार्मिक विकासका नाउँमा विभिन्न जातगोष्ठीका बोर्डहरू कायम भए र यिनको संख्या पन्ध्रसम्म पुग्यो। यी बोर्डहरूका लागि फन्डिङ पनि भयो।
अब यो 2021 को जनगणनामा ती बोर्डहरूले आफूलाई कुन भाषामा दऱ्याउने हुन्, यो गहिरो प्रश्नले अहिले घच्घच्याइ रहेको छ। जनगणनामा भाषा नै कारक विषय हो। भाषाकै आधारमा जाति टिकेको हुन्छ। तृणमूलले जातिमा विभाजन ल्याउने क्रममा बोर्डहरूको गठन त गऱ्यो, तर यो जनगणनामा ती जात गोष्ठीहरूले त्यही भाषिक आधारमा आफूलाई दर्ता गराउँदै लगे भने त्यहाँ ‘नेपाली भाषी गोर्खाहरू’ को संख्या घटेर स्वाट्टै तल्लो खुट्किलामा आउन बेर छैन।
आसामतिर त अझ बिथोलिएको देखिँदैन। छात्र संगठन वा अरू निकायहरूका कतिपय व्यक्ति ‘गोर्खा गोर्खा’ भनेर कराउँदैछन्। भएन, एकदुइजनाले त ‘आउँदो जनगणनामा हाम्रो मातृभाषा असमिया लेखाउनु पछ सम्म भन्न थालेका छन्। यो साह्रै राम्रो लच्छिन् होइन। भाषा एउटै होस्, जाति एउटै होस्, हाम्रो भन्नु यत्ति हो।
