सम्पादकीय

 

11 मार्च लोकसभा चुनाउको मिति तोकिएपछि दार्जीलिङ लोकसभा आसनमा मूलत विजेपी, तृणमूल कंग्रेस, सीपीएम अनि कंग्रेस  लगायत 19 प्रतिद्वन्द्वीहरूको प्रतिद्वन्द्व हुनेछ। चुनाउमा मुद्दा सर्वोपरी हुँदछ। यसैले दार्जीलिङको चुनावी मुद्दा पनि विभिन्न दलहरूको आ-आफ्नै छ। यद्यपि दार्जीलिङ चुनाउमा भावनात्मक मुद्दा नै सर्वोपरी हुँदछ। प्रथमतः गोजमुमो विमल गुट र विनय गुटको चुनावी मुद्दालाई हेर्दा के देखिँदैछ भने एउटा भगौड़ेको आफ्नै मुद्दा अनि अर्को जातिलाई धोका दिएर सत्तामा बस्नेको आफ्नै मुद्दा ती मध्ये पनि कतिपय दल सत्तामा बसेका विनय पन्तीलाई अप्रत्यक्ष सहयोग गर्ने छन्‌ भने कति भगौड़ेलाइ सोझै सहयोग गरेर गोर्खा जातिको अस्तित्व जोगाउँदैछु भन्ने दल छन्‌। 


यसपालीको चुनाउमा दार्जीलिहको भावनात्मक मुद्दामा एकक्षत्र भोट जान सम्भव छैन। किनभने विमल र विनय दुवै आ-आफ्नो भावनात्मक मुद्दालिएऱ दुइ विपरित दल तृणमूल र विजेपीलाई सहयोग गरिरहेका छन्‌। यता तराईमा प्रत्येक लोकसभा चुनाउमा चारै प्रमुख दलले आ-आफ्नो उम्मेद्‌वार उठाउने गरेकाले सधैँ भोटिङ फ्याक्टर पहाड़ नै हुन्थ्यो भने यसपाली पनि तराईका चारै प्रमुख दलले आ-आफ्नो उम्मेद्‌वार उठाएकाले दार्जीलिङ लोकसभा आसनमा पहाड़बाट नै निर्णायक भूमिका हुने सम्भावना छ। ती मध्ये पनि यसपालीको भावनात्मक मुद्दा के हो त भन्ने प्रश्न सबैमा छ अनि कुन भावनात्मक मुद्दाले जनताको मन जित्छ, त्यो सबैमा उत्सुकता छ।


मूलत विभिन्न आम मानिसहरूको भनाइ अनुसार 108    दिने गोर्खाल्याण्ड आन्दोलनकालमा चरम अवस्थामा पुगेको आन्दोलनलाई बंगालको त्रासदीय आक्रमण अनि नेताहरूलाई भय र लालच दुवै मध्ये कुन स्वकार्ने प्रस्तावको प्रतिफलस्वरूप एकै दिनमा आन्दोलनको फल जिरोमा पुगेर राखियो भने अर्को कट्टरपन्थी गोर्खाल्याण्डप्रेमी नेताहरू अझसम्म जंगल र भूमिगत नै छन्‌। अनि उनीहरूले विजेपीलाई अझै आशा गरेर त्रिपक्षीय वार्तामा बसेर यहाँको समस्या समाधान गर्ने पक्षमा छन्‌। यता विनय पन्थी तृणमूल समर्थकहरूको भनाई अनुसार लथालिङ्ग भएको आन्दोलनलाई सम्हालेर आज दार्जीलिङको विकास अनि 1950को सन्धिलाई संशोधन गरेर खाँटी भारतीय नागरिक हुने मुद्दा रहेको छ। अब यहाँ प्रश्न आउँछ दार्जीलिङमा सधैँ गोर्खाल्याण्डको विरोध गर्नेहरू भाग्नु पर्थ्यो भने यसपाली आफ्नै दलका कतिपय नेताहरूको रणनितीले गर्दा प्रमुख नेता सहित आम जनता भूमिगत एवं अप्रजातान्त्रिक माहौलमा बस्न परिरहेको छ। यसैले जनताले भूमिगत नेताहरूको मुद्दालाई सर्वोपरी मान्छन्‌ कि जनता सामु रहेर विकासको मुद्दालाई अगाड़ी बढ़ाइरहेका नेताहरूलाई सर्वोपती मान्छन्‌। त्यो चुनाउको परिमाणले बताउने छ हेरौं।