सम्पादकीय

 

सम्पादकीय

 

वैश्विक स्तरको कुरो गर्नु हो भने उता रूस र युक्रेनको युद्धको आगो बलेको बल्यै छ, यता देशमा मन्दिर-मस्जिदको विवाद चलेको चल्यैछ, महाँगीको मारले साधारण मानिसको हाड़-मासु गलेको गल्यै छ, धेरै ठाउँ बाड़ी, भल-पैह्रोले गर्दा साधारण गरीबहरूको अवस्था अझ तल्तिर ढलेको ढल्यै छ। 

यता पहाड़मा जीटीए चुनाउको बत्ती पनि कसै कसैका घरमा नजानिँदो गरी धिप्‌धिप्‌ गरेर बलेको बल्यै छ। अर्कातिर ‘कहिल्यै नफल्ने बनतरूल’ पनि बाँझो बारीमा कताकति ऐजेरू झैं भएर फलेको फल्यै छ। फेरि अर्कातिर पीपीएस र जनजातिको मुद्दा पनि भूसको अग्गो झैं भित्रभित्रै बलेको बल्यै छ। तात्पर्य पूर्ण कुरो, राजनीतिले भने हामीलाई जहिले पनि छलेको छल्यै छ। 

‘एकता’ कुन चराको नाउँ हो?’ भनेर सोध्ने स्थितिमा अहिले हामी पुगेका छौं। एकल प्रयासमा अथवा एक्लै गरेको प्रयासमा हामी जति सफल हुन सक्यौं, सामुहिक रूपमा गरिएको प्रयासमा भने हामी शून्यमै झरेर बस्यौं। एकल प्रयासमा व्यक्ति एक्लै हुन्छ र स्वार्थ पनि उसको एउटै हुन्छ केवल उसैको हुन्छ अनि पछि गएर ऊ आफ्ना काममा सफल पनि हुन्छ। उसको, त्यो पाएको फलमा त्यहाँ उसले बाँड़फाँड़ गरेर कसैलाई दिनु पर्ने केही रहेको हुँदैन। तर सामुहिक रूपमा गरिएको प्रयासमा भने सबैको आ-आफ्नो स्वार्थ हुन्छ र नेताहरूको त कुरै नगरौं, तल्ला तहका कार्यकर्ताहरूको उद्देश्यमा पनि स्वार्थको विषालु जरो भित्रभित्रै उनीहरूका मनमा फिंजिदै गएको हुन्छ। अनि कसरी आन्दोलन सफल हुन्छ?

नेताहरूको कुरो गर्नु हो भने एउटा आन्दोलन चर्कायो, त्यसलाई त्यतिकै बिथान्को पारेर छोड़्‌यो, फेरि अर्कातिर लाग्यो अनि त्यसलाई पनि न यता न उता पारेर त्यत्तिकै छोड्यो। आजसम्म यस्तै हुँदै आएको छ। नेताहरूमा दृढ्‌ता र साहस छैन भने कुनै पनि कार्य सफल हुन्छ भनेर न सोचे पनि हुन्छ। पछि गएर तिनीहरूको अनुहार मात्र याद रहन्छ, अरू केही रहँदैन। यसरी विर्चादा यहाँ लोकनाथ उपाध्याय चापागार्इंज्यूको एउटा कविता बड़ो घतलाग्दो र सान्दर्भिक देखिन्छ।-

खान्छन्‌ हरेस कतिले - बिचमै ढहन्छन्‌,

राखेर ध्यर्य कतिले - दुःखमा सहन्छन्‌,

कैयौं विचारहरू - विस्मृतिले पखाल्छ,

कैयौं मुहारहरू - स्मृतिमा रहन्छन्‌।